‘बेन्च स्टार’ माल्कोमलाई बार्साले रसियन क्लबलाई बेच्यो

एजेन्सी, साउन १७
स्पेनिस बार्सिलोनाका ब्राजिलियन विंगर माल्कोम रसियन क्लबमा अनुबन्ध भएका छन् । क्लब बार्सिलोनाले आज अफिसियल रूपमा आफ्नो युवा विंगर रसियन क्लब जेनिट साइन्ट पेटर्सवर्गमा अनुबन्ध भएको घोषणा गरेको हो ।

दुई क्लबको सम्झौताअनुसार जेनिटले बार्सिलोनालाई माल्कोमको सरुवा फीबापत कूल ४५ मिलियन युरो तिर्नेछ । माल्कोमलाई बार्सलोनाले मात्रै एक सिजन क्लबमा राखेर बेचेको हो ।

गत सिजन माल्कोमले बार्सिलोनाका लागि कूल २४ खेल खेलेका थिए । जसमा उनले १५ ला लिगा, ६ कोपा डेल रे र तीन च्याम्पियन्स लिग खेल्दै कूल ४ गोल गरेका थिए ।

२२ वर्षीय युवा खेलाडीलाई बार्सिलोनाले गत सिजन फ्रेन्च क्लब बोर्डेक्सबाट ३५ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बार्सिलोनामा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा अधिकांश खेलमा बेन्चबाट सुरुआत गरेका माल्कोमले पर्याप्त खेल्न नपाएपछि क्लब छाड्ने निर्णय गरेका हुन् । उनी इंग्लिस प्रिमियर लिग क्लब जाने चर्चा भए पनि बार्सिलोनाले उनलाई रसियाको बाटो देखाएको हो ।

बार्सिलोनामा छँदा माल्कोमले बेन्चबाट मैदान छिरेर पनि उच्च प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएका थिए । उनले केही स्मरणीय गोल गरेका छन् । उनले च्याम्पियन्स लिगको समूह चरण र ला लिगामा गरेका केही गोल चर्चित छन् ।

प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार १३:५४
Loading...