पिएसजीले बार्सिलोनालाई नेइमार भित्र्याउन दियो समयसीमा

एजेन्सी, साउन १६
फ्रेन्च क्लब पिएसजीले आफ्ना स्टार खेलाडी नेइमार भित्र्याउन इच्छुक बार्सिलोनालाई समयसीमा दिएको छ । फ्रेन्च मिडियाले यस्तो खबर प्रकाशित गरेका छन् । बार्सिलोना आफ्ना पूर्वस्टार नेइमारलाई सकेसम्म कम मूल्यमा अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

बार्सिलोनाले नेइमारलाई सन् २०१७ मा विश्वकीर्तिमनी मूल्य २२२ मिलियन युरोमा पिएसजीलाई बेचेको थियो । तर, नेइमार हाल बेखुसी रहेर क्लब छाड्ने तयारीमा रहेका छन् । यसअघि बार्सिलोनाले आफ्ना दुई खेलाडीसहित केही रकम दिएर नेइमार फर्काउन प्रस्ताव गरे पनि पिएसजी नमानेको खबर आएको थियो ।

खबरअनुसार पछिल्लोपटक बार्सिलोनाले नेइमारका लागि कुनै अफर गरेको छैन । नेइमार पेरिसमा बस्न नचाहेको अवस्थामा पिएसजी पनि उनलाई बिदा गर्न तयार देखिन्छ । तर, त्यसका लागि उसले बार्सिलोनाबाट उचित मूल्यको अपेक्षा गरेको छ ।

यो बताईको छ कि, पिएसजीले बार्सिलोनालाई नेइमार भित्र्याउन अगस्ट १० सम्मको समयसीमा दिएको छ । पिएसजीले फ्रेन्च लिग वान सुरु हुनुअघि नै बार्सिलोनाले नेइमार अनुबन्धका लागि प्रक्रिया थाल्नुपर्ने अन्यथा नहुने बताएको खबरमा उल्लेख छ ।

‘बिबिसी’ ले यदि बार्सिलोनाले पूरै मूल्य तिर्न नसक्ने भए ऋणमा समेत नेइमार अनुबन्ध गर्न सक्ने विकल्प खुला गरेको छ । अर्को सिजन बार्सिलोनाले नेइमारलाई स्थायी रूपमा अनुबन्ध गर्ने गरी पिएसजी एक सिजन नेइमारलाई लोनमा बार्सिलोना फर्काउन तयार देखिएको छ ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १५:०७
Loading...