म रोनाल्डोजस्तै बन्न चाहन्छु : फेलिक्स

एजेन्सी, साउन १६
हालै स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका युवा स्टार जुआओ फेलिक्सले राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले रोनाल्डो अर्कै स्तरका खेलाडी रहेको भन्दै आफ्नो उनीजसतै बन्ने सपना रहेको बताएका हुन् ।

१९ वर्षीय फेलिक्सलाई हालै मात्र एथ्लेटिकोले पोर्चुगिज क्लब बेनफिकाबाट १२६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । उनी विश्व फुटबलका सर्वाधिक महँगा खेलाडीको सूचीमा पर्छन् । स्पेनमा आएपछि उनले गोल र असिस्ट गर्दै आफ्नो प्रभाव छाडिसकेका छन् ।

केही समयअघि युइएफए नेसन्स लिगको सेमिफाइनल चरणमा पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यु गरेका फेलिक्सले रोनाल्डो सर्वाधिक सफल खेलाडी भएको बताए । ‘मैले राष्ट्रिय टिममा डेब्यु गरेकै प्रतियोगितामा उपाधि जित्न सफल भएँ । क्रिस्टियानोसँग पहिलोपटक खेल्न पाउनु मेरा लागि अविष्मरणीय थियो,’ फेलिक्सले भनेका छन् ।

रोनाल्डोले पाँचपटक बालोन डि‘ओर र अन्य थुप्रै ठूला अवार्ड जितेको बताउँदै फेलिक्सले जो कोही खेलाडीको उनीजस्तै बन्ने सपना हुने बताए । ‘क्रिस्टियानो रोनाल्डोले पाँचपटक बालोन डि‘ओर जितेका छन् । र, यो सबै खेलाडीको सपना हुन्छ । अवश्य पनि, म उनीजस्तै बन्न चाहन्छु,’ फेलिक्सले भने ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १०:५२
Loading...