बार्सिलोनामा कोउटिन्होको भविष्य अन्योलमा

एजेन्सी, साउन १६
स्पेनिस बार्सिलोना यतिबेला आफ्ना ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको विषयलाई लिएर चिन्तित छ । अघिल्लो वर्ष इंग्लिस क्लब लिभरपुललबाट १४२ मिलियन पाउन्डमा अनुबन्ध गरेका २७ वर्षीय खेलाडीलाई बार्सिलोना यसै समरमा बेच्न चाहन्छ ।

तर, बार्सिलोनालाई कोउटिन्होका लागि हालसम्म कुनै औपचरिक अफर आएको छैन । यसअघि बार्सिलोनाले आफ्ना पूर्वस्टार नेइमार फर्काउन कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेलेलाई डिलमा मिसाउने गरी अफर यसअघि गरेको थियो । थर, पिएसजीले नेइमार खेलाडी साटफेर गर्ने डिलमा नदिने बताएर बार्सिलोनालाई झट्का दिइसकेको छ ।

बार्सिलोनामा हालै डच मिडफिल्डर फ्रेन्की डे जोङ आइपुगेकाले कोउटिन्होको भविष्य सुरक्षित देखिँदैन । यता, इभान राकिटिक पनि बार्सिलोनामै रहने करिब पक्का भएको अवस्थामा बार्सिलोनाले कोही न कोही एक स्टार मिडफिल्डर बेच्नुपर्ने हुन्छ ।

अहिले बार्सिलोनाको टोलीमा क्रोएसियन राकिटिक, ब्राजिलियन कोउटिन्हो, चिलियन अर्टुरो भिडाल, ब्राजिलियन अर्थुर, स्पेनिस सर्जियो बुस्केट्सलगायत सिनियर टोलीका खेलाडी छन् । मिडफिल्डमा स्टार खेलाडीको भिड रहेका बेला नयाँ सिजनमा प्रशिक्षक भाल्भर्डेका लागि कसलाई सुरुआती टोलीमा राख्ने भन्नेमा टाउको दुखाइ बन्ने देखिन्छ ।

गत सिजन बार्सिलोनामा कमजोर प्रदर्शन गरेकाले बार्सिलोनाले कोउटिन्होलाई क्याम्प नोउबाट बिदा गर्न चाहेको बताइन्छ । झन् हालको अवस्थामा नयाँ सिजनमा उनलाई सुरुआती टोलीमा राख्ने र बलियो टिम बनाउने विषयमा बार्सिलोना थप अन्योलमा देखिन्छ । यस्तो अवस्थाबीच उसले आफ्नो क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडीलाई मूल्य घटेर भए पनि पैसा बटुल्ने योजना बनाएको देखिन्छ ।

तर, कोउटिन्होका लागि कुनै पनि ठूला क्लबले अफर नगर्दा बार्सिलोनामाथि थप चिन्ता बढेको छ । यसअघि कोउटिन्होका लागि इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड इच्छुक रहेको चर्चा रहे पनि अहिले त्यो चर्चा सेलाइसकेको छ ।

गत सिजन कोउटिन्होले कूल ५३ खेलबाट ११ गोल गर्दै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसअघि आधा सिजनमा उनले ला लिगा र कोपा डेल रेमा खेल्दै १४ गोल गरेर ६ गोलका लागि असिस्ट गरेका थिए ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०९:५८
Loading...