सर्वेक्षण भन्छ– जिदान आउट !

एजेन्सी, साउन १६
प्रि–सिजनका पाँच खेलमध्ये एक खेल मात्रै जितेको स्पेनिस रियल मड्रिडका प्रशिक्षक जिनेदिन यतिबेला दबाबमा छन् । नयाँ सिजनलाई भव्य बनाउन समर सिजनमा खेलाडी अनुबन्धमा मोटो बजेट खर्चिए पनि रियल यतिबेला खराब अवस्थाबाट गुज्रिरहेको छ ।

गत राति जर्मनीमा आउदी कप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा टर्किस क्लब फेनेरबेचीलाई ५–३ ले हराए पनि रियल त्यसअघि लगातार चार खेलमा जितविहीन थियो । यसै साता लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडसँग ७–३ को लज्जास्पद हारपछि जिदानको चर्को आलोचना भएको थियो ।

दोस्रोपटक क्लबको प्रशिक्षक भएर आउँदा उनले सुरुमा ठूला–ठूला प्रतिबद्धता गरेर योजना बनाए पनि उनी अहिले त्यसमा सफल हुन सकिरहेका छैनन् । उनको बाटो सहज हुनुको साटो झन् कठिन बन्दै गएको नतिजा र परिस्थितिले देखाउँछ ।

पछिल्लोपटक एथ्लेटिकोसँग ७–३ को लज्जास्पद हारपछि जिदान नयाँ योजनामा लागेको बताइन्छ । सो दिन जिदान उनी खेलपछि सिधै पत्रकार सम्मेलनमा सहभागी भएर खेलाडीसँग कुरै नगरी सोझै बस चढ्न पुगेका थिए । अब जिदानको प्रमुख योजना भनेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बा भित्र्याउनु रहेको बताइन्छ ।

पछिल्लोपटक वेल्स स्टार ग्यारेथ बेलको विषयलाई लिएर क्लबसँग टकराव चलिरहेका बेला टिमले राम्रो नतिजा दिन नसक्दा क्लब उनीसँग खुसी छैन । सबै जिदानकै योजनाअनुसार हुँदा पनि टिम लगातार जितविहीन बन्दा जिदान आफैं अप्ठेरोमा परेका छन् ।

सर्वे भन्छन्– जिदान आउट !

हालै ‘मार्क पोल’ नामक सर्भे कम्पनीले गरेको एक सर्वेक्षणअनुसार रियलका समर्थकहरू जिदानलाई पदबाट हटाउनुपर्ने पक्षमा देखिएका छन् । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत समर्थक प्रशिक्षक जिदान हटाउनुपर्ने पक्षमा उभिएका छन् ।

करिब १ लाख ८० हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा नयाँ सिजनअघि नै जिदानलाई क्लबबाट हटाउनुपर्नेमा फ्यानहरूले मत दिएका छन् । क्लबसँग राम्रो खेलाडी भए पनि जिदानले व्यक्तिगत टकरावलाई साँधेर राम्रो टिम बनाउन नसकेको मत फ्यानहरूको छ ।

व्यक्तिगत टकरावका कारण वेल्स फरवार्ड ग्यारेथ बेललाई बेच्न खोज्नु वा टोलीमै नराख्नु र कोलम्बियन स्टार हामेस रोड्रिग्वेज आफ्नो योजनामा नपर्ने बताएर जिदानले रियललाई ओरालो बाटो लगाउन खोजेको फ्यानहरूको आरोप छ ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०४:००
Loading...