लियोनमाथि लिभरपुलको सहज जित

काठमाडौं, साउन १६
क्लब मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन क्लब लिभरपुलले फ्रेन्च क्लब लियोनलाई हराएको छ । गत राति भएको खेलमा लिभरपुलले पछि परेको अवस्था उल्ट्याउँदै लियोनलाई ३–१ ले निराश बनायो ।

स्वीट्जरल्यान्डको जेनेभामा भएको खेलमा लिभरपुलले पछि परेको स्थितिमा गोल गर्दै खेल जितेको हो । खेलको चौथो मिनेटमै लियोनका लागि मेम्फिस डिपेइले पेनाल्टीमार्फत् गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १७औं मिनेटमा रोवर्टो फर्मिन्होले गोल गरेपछि खेल १–१ मा पुग्यो । त्यसपछि जोआचिम एन्डर्सनले खेलको २१औं मिनेटमा आफ्नै पोटस्मा गोल गरेपछि लिभरपुललाई २–१ को अग्रता मिल्यो ।

दोस्रो हाफमा पनि लिभरपुलले गोल हान्यो । ५३औं मिनेटमा ह्यारी विल्सनले उत्कृष्ट गोल गरेपछि लिभरपुलले खेलमा ३–१ लिड लियो । विल्सनले करिब २५ यार्ड दूरीबाट हानेको प्रहारले सोझै जाली चुमेको थियो ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०२:५१
Loading...