पेनाल्टीमा बार्यनलाई हराउँदै टोटनह्यामले जित्यो उपाधि

काठमाडौं, साउन १६
प्रि–सिजनअन्तर्गत भएको आउदी कप मैत्रीपूर्ण फुटबलको उपाधि इंग्लिस क्लब टोटनह्यामले जितेको छ । गत राति जर्मनीमा भएको फाइनल खेलमा टोटनह्यामले घरेलु टोली बार्यन म्युनिखलाई पेनाल्टी सुट आउट सडन डेथमा ६–५ ले स्तब्ध बनायो ।

निर्धारित समयमा खेल २–२ को बराबरी भएपछ खेल पेनाल्टीमा पुगेको थियो । जहाँ पाहुना टोली टोटनह्यामका लागि खेलको १९औं मिनेटमा इरिक लामेलाले गोल गरेका थिए । त्यसपछि ५९औं मिनेटमा क्रिस्टिएन एरिक्सनले गोल गरेपछि टोटनह्यामले घरेलु टोलीरिुद्ध ०–२ को अग्रता लिएको थियो ।

तर, बार्यन त्यसपछि खेलमा फर्कियो । उसका लागि खेलको ६१औं मिनेटमा जान फिटे अर्पले पहिलो गोल गरे । त्यसपछि ८१औं मिनेटमा एल्फोनस ड्याभिसले गोल गरेपछि खेल २–२ मा पुग्यो ।

निर्धारित ९० मिनेटमा हार–जित नभएपछि अतिरिक्त समय थप नगरी खेललाई साझै पेनाल्टीमा लगिएको थियो । जहाँ टोटनह्यामले बार्यनलाई हरायो । टोटनह्याम र बार्यन दुवैले सुरुआती ५–५ पेनाल्टी हानेकोमा ४–४ को बराबरी भयो ।

त्यसपछि सडन डेथका आधारमा टोटनह्यामले जित्यो । टोटनह्यामका लागि छैटौं पेनाल्टीमा गोल लाग्यो भने बार्यनका लागि छैटौं पेनाल्टी मिस भएपछि खेल टोटनह्यामले ६–५ ले जित्यो ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०१:५६
Loading...