काठमाडौं, साउन १५
प्रि–सिजनअन्तर्गत जर्मनीमा भएको आउदी कप फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । नेपाली समयअनुसार बुधबार राति तेस्रो स्थानका लागि भएको खेलमा रियलले टर्किस क्लब फेनरबेचीमाथि ५–३ को जित निकालेको हो ।
गोलको वर्षा भएको खेलमा रियलले ३ गोलको सामना गर्दा आफूले ५ गोल हान्यो । यसँगै रियल तेस्रो स्थानको विजेता बनेको छ ।
आजको जितसँगै रियलले प्रि–सिजनमा पहिलो जित पनि निकालेको छ । यसअघि उसले चार खेल खेल्दा कुनै खेलमा स्प्ष्ट जित निकालेको थिएन । तर, उसले पाँचौं खेलमा जितको स्वाद चाख्यो ।
खेलको छैटौं मिनेटमै पछि परेको अवस्थामा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गरे । बेन्जेमाले खेलको १२औं, २७औं र ५३औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, रियलका लागि खेलको ६२औं मिनेटमा नाचोले गोल गरे भने ७९औं मिनेटमा सब्सिच्युट खेलाडी डियाज मारिआनोले गोल गरे ।
यता, पराजित फेनरबेचीका लागि खेलको छैटौं मिनेटमा ग्यारी रोड्रिग्वेजले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा नाविल डिरारले गोल गरे भने ५९औं मिनेटमा ओजन तुफानले गोल गरेका थिए ।
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १८:००