प्रशिक्षकबारे अर्जेन्टिनी फुटबल संघले गर्‍यो यस्तो निर्णय

एजेन्सी, साउन १५
हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा खराब प्रदर्शनपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले पद छाड्ने वा बर्खास्तीमा पर्न सक्ने धेरैको अनुमान थियो । तर, उनी हालसम्म पनि पदमा छन् । र, अर्जेन्टिनी फुटबल संघले तत्कालै उनको विकल्प नखोजी उनलाई नै प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ ।

अघिल्लो दिन संघले औपचारिक रूपमा निर्णय गर्दै स्कालोनीलाई नै सन् २०२२ को कतार विश्वकपको छनौट खेलसम निरन्तरता दिने दिने निर्णय गरेको हो । संघले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘अर्जेन्टिनी फुटबल संघको कार्यकारी समितिले सन् २०२२ को कतार विश्वकपको छनौट खेलसम्म हालका प्रशिक्षकलाई नै निरन्तरता दिने निर्णय गरेको छ । आगामी दिनमा लिओनल स्कालोनीले नै टोली सम्हाल्नेछन् ।’

अर्जेन्टिनी संघले आफ्ना कप्तान लिओनल मेस्सीले टिमलाई सन् २०२२ को विश्वकपसम्म नेतृत्व दिनेमा अपेक्षा गरेको देखिन्छ । संघले मेस्सी नै कतार विश्वकपसम्म टोलीको कप्तानका रूपमा रहने जनाउ पनि दिएको छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनी सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलसम्म पुगेको थियो । त्यसपछि सन् २०१५ र सन् २०१६ मा अर्जेन्टिनाले लगातार कोपा अमेरिका फाइनलमा हारेको थियो । त्यसबेला पनि मेस्सी नै कप्तान थिए ।

हालै ब्राजिलमा मेस्सीकै कप्तानीमा अर्जेन्टिनी सेमिफाइलनसम्म पुगे पनि उपाधि जित्न सकेन । ऊ प्रतियोगिताको तेस्रो टिम बनेको थियो । ब्राजिलको कोपापछि मेस्सीको कप्तानी भूमिकाको चर्को आलोचना बढेको थियो ।

प्रकाशित मिति July 31, 2019
Loading...