रियल मड्रिडलाई हराउँदै टोटनह्याम फाइनल प्रवेश

काठमाडौं, साउन १४
इंग्लिस क्लब टोटनह्याम आउदी कप फुटबलको फाइनल प्रवेश गरेको छ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण प्रतियोगिताका रूपमा जर्मनीमा खेलाइएको कपको सेमिफाइनलमा टोटनह्यामले स्पेनिस रियल मड्रिडलाई १–० ले निराश बनाउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाली समयअनुसार मंगलबार राति बार्यन म्युनिखको घरेलु रंगशालामा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन नायक बने । उनले खेलको २२अ‍ैं मिनेटमा गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो ।

केनले सो गोल रियलका डिफेन्डरको गल्तीमा लगाएका थिए । रियलका लेफ्ट ब्याक मार्सेलोले साथीलाई ब्याक पास दिएको बल केनले पोस्ट नजिकैबाट नियन्त्रणमा लिएर गोलरक्षक केलर नाभासलाई बिट गर्दै जाली चुमाएका थिए ।

सो गोलको मदतमा खेलमा अग्रता लिएको टोटनह्यामले अन्ततः अन्तिम समयसम्म सोही अग्रता जोगाएर खेल जित्यो । दोस्रो हाफमा रियलका ब्राजिलियन खेलाडी रोड्रिगोले गोल गरे पनि उनको गोल रद्द गरिएको थियो ।

रियलका गोलरक्षक केलर नभासले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दा रियल थप गोल खानबाट बचेको थियो । नाभासले आधा दर्जनभन्दा बढी सुन्दर बचाउ गरेका थिए ।

यससँगै टोटनह्याम कपको फाइनल प्रवेश गरेको छ भने रियल उपाधि होडबाट आउट भएको छ । तर, रियलले तेस्रो स्थानका लागि खेल्नेछ । फाइनल जाने अर्को टिमको टुंगो आजै राति लाग्नेछ । अर्को खेलमा राति १२ः१५ बजेबाट बार्यन म्युनिख र फेनेरबेक खेल्दैछन् ।

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार १७:५६
Loading...