स्पेन पुगेर रोनाल्डोले भने– ‘म चाँडै मड्रिड फर्किन सक्छु’

एजेन्सी, साउन १४
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू चाँडै रियल मड्रिड फर्किने आशा व्यक्त गरेका छन् । गत राति स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ ग्रहण गरेपछि मन्तव्य राख्दै रोनाल्डोले यस्तो बतााएका हुन् ।

स्पेनको चर्चित पत्रिका ‘मार्सा’ले हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई प्रतिष्ठित अवार्ड प्रदान गरेको हो । रियलमा ९ वर्ष रहँदा चार युरोपियन च्याम्पियन्स लिगसहित चारपटक बालोन डि‘ओर जितेका रोनाल्डो रियलका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

रोनाल्डोले करिअरमा जितेका कूल पाँच बालोन डि‘ओरमध्ये चार रियलमा छँदै जितेका थिए । उनले देश पोर्चुगलका लागि सन् २०१६ मा युरो कप र यसै वर्ष युइएफए नेसन्स लिगको उपाधिसमेत जितेका छन् ।

अवार्ड ग्रहण गरेपछि आफ्ना भनाइ राख्दै रोनाल्डोले अवार्ड पाएकोमा खुसी व्यक्त गरे । उनले रियल छाड्दा आफू निकै दुःखी भएको पनि बताए । ‘मड्रिडमा मैले जीवनका थुप्रै वर्ष बिताएँ । मेरा बच्चाबच्ची पनि यहीं जन्मिए । तसर्थ मलाई यो सहर एकदमै मन पर्छ,’ रोनाल्डोले भने ।

उनले अघि थपे, ‘क्लब रियलको मलाई एकदमै माया लाग्छ । किनभने, यहाँ मेरा थुप्रै दुःख–सुख जोडिएका छन् । म चाँडै मड्रिड फर्किनेमा आशावादी छु ।’

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०४:३६
Loading...