स्पेनमा रोनाल्डोलाई प्रतिष्ठित अवार्ड !

एजेन्सी, साउन १३
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई स्पेनमा प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । उनलाई नेपाली समयअनुसार सोमबार राति १० बजे स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको हो ।

यो अवार्ड चर्चित पत्रिका ‘मार्सा’ले प्रदान गर्ने गर्छ । उसले सफल खेलाडीलाई विशिष्ठ अवार्डका रूपमा यो अवार्ड दिने गर्छ । यसपटक उसले विगतमा ९ वर्ष स्पेनमा रहेर व्यावसायिक फुटबल खेलेका रोनाल्डोलाई प्रदान गरेको हो ।

अघिल्लो सिजन रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका रोनाल्डोले गत सिजन युभेन्टसबाट दुई उपाधि जिते । उनी सिरी ‘ए’ को सिजनको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए । उनले क्लबका लागि कूल २८ गोल गर्दै १२ गोल असिस्ट गरेका थिए ।

त्यसैगरी, उनले अघिल्लो महिना पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि जिताउँदा पनि निर्णायक भूमिका खेलेका थिए । सो प्रतियोगितामा उनी सर्वाधिक गोलकर्तासमेत बनेका थिए ।

३४ वर्ष पुगेर हालसम्म पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डो इंग्ल्यान्डबाट प्रिमियर लिग, स्पेनबाट ला लिगा र इटालीबाट सिरी ‘ए’ जित्ने एक मात्रै खेलाडी हुन् । ९ वर्ष रियलमा रहेर क्लबलाई मनग्य उपाधि जिताएका उनले कूल ४३८ खेलबाट ४५० गोल गरेका थिए ।

रोनाल्डोले पाँच युरोपिनय च्याम्पियन्स लिग, चार क्लब विश्वकप, तीन युरोपियन सुपर कप, तीन प्रिमयिर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरो कप र एक युइएफए नेसन्स लिग विजेता रोनाल्डोलाई ‘मार्सा लिजेन्ड’ अवार्डबाट सम्मानित गरिएको हो ।

अवार्ड वितरण समारोहमा रोनाल्डो आफ्नो परिवारसहित पुगेका थिए । सो कार्यक्रममा पूर्वक्लब रियलका अध्यक्ष फ्लोरेन्टियो पेरेज, उनका एजेन्टसमेत सहभागी थिए ।

रोनाल्डो युरोपियन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले कूल १२७ गोल गरेका छन् । रियल मड्रिडको इतिहासकै सर्वाधिक गोकलर्ता उनी पोर्चुगलका समेत सर्वाधिक गोलकर्ता हुन् । उनले देशका लागि दुई प्रमुख उपाधि जित्दै ८८ गोल गरेका छन् ।

प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार १७:१०
Loading...