एजेन्सी, साउन १३
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार कोलम्बियन खेलाडी हामेस रोड्रिग्वेजलाई नबेच्ने भएको छ । दुई वर्ष जर्मन क्लब बार्यन म्युनिखमा लोनमा बिताएर हालै रियल फर्किएका स्टार खेलाडी आगामी सिजन पनि रियलमै रहने भएका हुन् ।
यसअघि २८ वर्षीय रोड्रिग्वेजलाई इटालियन क्लब नापोली र स्पेनकै एथ्लेटिको मड्रिडले भित्र्याउन प्रयास गरेका थिए । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना प्रमुख खेलाडीका लागि आएका सबै प्रस्ताव रोक्ने निर्णय गरेका हुन् ।
हालै रियलका युवा खेलाडी मार्को एसेन्सियो नयाँ सिजनभरि चोटका कारण टोलीबाहिर रहने भएपछि रियल रोड्रिग्वेजलाई बेच्ने कदमबाट पटि हटेको हो ।
तर, क्लबले रोड्रिग्वेजलाई नेबेच्ने भने पनि प्रशिक्षक जिनेदिन जिदानको योजनामा रोड्रिग्वेज पर्ने सम्भावना कमै छ । यसअघि पनि जिदान रियलको प्रशिक्षक छँदा रोड्रिग्वेज उनको रोजाइमा पर्दैन थिए । खेल्न नपाएर उनी लोनमा बार्यन जान तयार भएका थिए ।
रियलले रोड्रिग्वेजलाई सन् २०१४ मा अनुबन्ध गरेको थियो । सो वर्ष विश्वकपमा चम्किएका रोड्रिग्वेजले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेपछि उनलाई रियलले अनुबन्ध गरेको थियो ।
रोड्रिग्वेज अघिल्लो दिनबाटै रियलको टोलीमा समावेश छन् । उनले अन्य सहकर्मीसँगै प्रशिक्षण थालिसकेका छन् ।
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार १५:२९