लिजेन्ड रेकोबाले मेस्सी र रोनाल्डोमा रोजे एक

एजेन्सी, साउन १३
इटालियन क्लब इन्टर मिलान तथा उरुग्वेका लिजेन्ड खेलाडी अल्भारो रेकोबाले सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीमा को उत्कृष्ट भन्नेमा आफ्नो मत जाहेर गरेका छन् । हाल स्पेनिस बार्सिलोनाबाट खेलिरहेका अर्जेन्टिनी मेस्सी र हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज रोनाल्डोमा उनले एक छानेका छन् ।

जसमा रेकोबाले रोनाल्डोलाई छाडेर मेस्सीलाई छानेका छन् । एक अन्तर्वार्तामा उनलाई मेस्सी र रोनाल्डोमध्ये एक छान्न भनिएकोमा उनले सहजै मेस्सीको नाम लिए ।

पत्रकारको प्रश्नमा उनले भने, ‘मेस्सी १५ वर्षदेखि माथिल्लो स्तरबाट खेलिरहेका छन् । भन्नेले त उनी बार्सिलोना छाडेर अन्यत्र गएका छैनन् भन्छन्,’ रेकोबाले भने, ‘तर, बार्सिलोनामा जति खेलाडी आए–गए पनि उनी अहिलेसम्म उस्तै छन् । टिम उनीमाथि नै निर्भर छ ।’

रेकोबाले रोनाल्डोबारे पनि धारणा राखे । उनले यो बताएका छन् कि, मेस्सी र रोनाल्डो एकै समयमा खेलिरहेकाले उनीहरूको बढी चर्चा हुन्छ । ‘यदि दुवै महान् खेलाडी फरक–फरक समयमा खेल्छन् भने दुईमध्ये को उत्कृष्ट भन्ने विवाद हुँदैन । तर, रोनाल्डो र मेस्सी एकै समयमा खेलिरहेकाले उनीहरूको बढी चर्चा भइरहेको छ,’ रेकोबाले भने ।

रेकोबालाई अर्को पनि रोचक प्रश्न सोधियो । उनलाई ‘यदि रोनाल्डो र मेस्सीको खेल एकै समयमा टिभीमा चलिरहेको छ भने तपाईं कसको खेल हेर्नहुन्छ’ भने सोधियो । जसमा उनले मेस्सीकै नाम लिए । ‘यदि दुवै एकै समयमा खेलिरहेका छन् भने अवश्य पनि म मेस्सीकै खेल हेर्न मन पराउछु,’ उनले भने ।

प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार १३:०३
Loading...