ड्यानी आल्भेसले पाएनन् अफर, भने– ‘मेरो बायोडाटा कहाँ पठाऊँ ?’

एजेन्सी, साउन १३
ब्राजिलका भेट्रान डिफेन्डर ड्यानी आल्भेस सरुवा बजार सकिन लाग्दासम्म पनि क्लबविहीन छन् । फ्रेन्च क्लब पिएसजीसँग गत सिजनको अन्त्यसँगै सम्झौता सकिएपछि उनी अहिले खाली छन् ।

सरुवा बजारमा उनलाई विभिन्न क्लबले अनुबन्ध गर्न चाहेको चर्चा छ । ३६ वर्षीय आल्भेस पूर्वक्लब बार्सिलोना फर्किन इच्छुक छन् भने केही इंग्लिस क्लब पनि उनीमाथि इच्छुक देखिएका छन् । उनलाई जसले अनुबन्ध गरे पनि फ्री ट्रान्सफरमा भित्र्याउन पाउँछ ।

सरुवा बजार सकिन लाग्दासमेत आफू जाने नयाँ क्लबको टुंगो नलागेपछि वा आफूलाई औपचारिक प्रस्ताव नआएपछि आल्भेसले सामाजिक सन्जालमा ठट्टापूर्ण पोस्ट गरेका छन् । उनले नयाँ जागिरका लागि आफू आफ्नो व्यक्तिगत बायोडाटा कतै पठाउन तयार भएको तर कहाँ पठाउने भनेर फ्यानहरूसँग सुझाव मागेका छन् ।

उनले सामाजिक सन्जाल इन्टास्टाग्रममा लेखेका छन्– ‘नयाँ जागिरका लागि म मेरो बायोडाटा कहाँ पठाऊँ ? यदि तपाईंसँग यो पढ्ने समय छ भने कृपया मलाई कसैले भन्दिनुहुन्छ कि ?’

आल्भेस सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी हुन् । उनले हालसम्म आफ्नो करिअरमा क्लब र देशका लागि गेर कूल ४३ प्रमुख उपाधि जितसिकेका छन् । आल्भेसले यसअघि स्पेनिस बार्सिलोना र इटालियन युभेन्टसबाट पनि खेलिसकेका छन् । बार्सिलोनामा उनले ८ वर्ष बिताएका थिए । हालै ब्राजिलमा सकिएको कोपा अमेरिकामा उनले ब्राजिलको टोलीको कप्तानी गरेका थिए ।

प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ०६:५६
Loading...