म ओछ्यानमा हुँदा पनि मेस्सीलाई कसरी पास दिने भनेर सोचिरहेको हुन्छु : ग्रीजम्यान

एजेन्सी, साउन १२
बार्सिलोनाले हालै अनुबन्ध गरेका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानले आफ्ना नयाँ सहकर्मी लिओनल मेस्सीको तारिफ गरेका छन् । यसै समरमा बार्सिलोनाले लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट २८ वर्षीय ग्रीजम्यानको १२० मिलियन युरोको रिलिज क्लज तिरेर अनुबन्ध गरेको थियो ।

बार्सिलोनाका लागि दुई खेल खेलिसकेका ग्रीजम्यानले हालै एक अन्तर्वार्तामा बोल्दै आफ्ना नयाँ कप्तान मेस्सीको तारिफ गरेका हुन् । उनले मेस्सीलाई एक उत्कृष्ट खेलाडी भन्दै उनीसँग सँगै प्रशिक्षण गर्न, खेल्न र समय बिताउन आफू आतुर रहेको बताएका छन् ।

‘मेस्सी सधैं उत्कृष्ट छन् । उनले बोलेका कुरा सबैले सुन्छन्, उनी विशेष छन्,’ ग्रीजम्यानले भने, ‘म उनीसँग खेल्न एकदमै आतुर छु ।’

ग्रीजम्यानले अघि थपे, ‘म मेस्सीसँग भेट्न, कुरा गर्न, सँगै प्रशिक्षण गर्न आतुर छु । म अहिले उनीसँगै प्रशिक्षण गर्दा र खेल्दाको कल्पना गरिरहेको छु ।’

ग्रीजम्यानले त आफू सुत्न लाग्दा पनि मेस्सीसँग कसरी खेल्ने र उनलाई कसरी पास दिने भनेर सोच्ने गरेको बताए । ‘म ओछ्यानमा हुँदा पनि मेस्सीलाई कसरी पास उपलब्ध गराउने भनेर सोचिरहेको हुन्छु । अभ्यासक्रममा र भिडियो हेर्दा पनि यही सोच्दछु,’ उनले थपे ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १४:१०
Loading...