रियलद्वारा चिनियाँ अफर अस्वीकार : बेल रियलमै बस्ने !

एजेन्सी, साउन १२
सरुवा बजारका अनेक चर्चाबीच अन्ततः वेल्स स्टार ग्यारेथ बेल रियल मड्रिडमै रहने भएका छन् । आज क्लब रियलले औपचारिक रूपमै बेलका लागि चिनियाँ क्लबको अफर अस्वीकार गरेको ‘बिबिसी’ ले जनाएको छ ।

प्रशिक्षक जिनेदिन जिदानसँग सम्बन्ध राम्रो बन्न नसकेपछि जिदानकै दबाबमा रियलले बेल बेच्न चाहेको थियो । तर, पछिल्ला घटनाक्रमसँगै रियलले आफ्ना कुनै बेलाका कीर्तिमानी मूल्यका खेलाडी बेच्ने बाटो बन्द गरेको हो ।

प्रशिक्षक जिदानले बेलाई क्लबले बेच्ने तयारी गरेको पुष्टि गरेपछि ३० वर्षीय खेलाडीका लागि चिनियाँ क्लब जियाङ्सु सुनिङले अनुबन्ध गर्न अफर गरेको थियो । उसले बेललाई प्रतिसाता विश्वकीर्तमानी १ मिलियन पाउन्ड तलब दिने गरी अफर गरेको थियो ।

तर, बेललाई फ्री ट्रान्सफर वा केही मिलियन मूल्यमा बेच्न रियल तयार नभएपछि बेल नयाँ सिजन पनि रियलमै रहने पक्का भएको हो । गत सिजन बेलले रियलका लागि सबैखाले गरी कूल ४२ खेलबाट १४ गोल गरेका थिए भने ६ गोलका लागि असिस्ट गरेका थिए ।

यसै साता मैत्रीपूर्ण खेल दौरान रियलका युवा खेलाडी मार्को एसेन्सियो घाइते भएपछि रियलले बेल बेच्न योजना बन्द गरेको बुझिएको छ । एसेन्सियो चोटका कारण नयाँ सिजनभरि नै मैदानबाहिर हुने बताइएको छ ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १३:३३
Loading...