एजेन्सी, साउन १२
इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले क्लब नछाड्ने भएका छन् । उनलाई इंग्लिस क्लब टोटनह्याम र म्यानचेस्टर युनाइटेड अनुबन्ध गर्न प्रयासरत थिए ।
यसै साता मात्रै टोटनह्यामले २५ वर्षीय अर्जेन्टिनी फरवार्डका लागि ८० मिलियन पाउन्डको फर गरेको थियो । यता, युनाइटेडले पनि आफ्ना खेलाडी रोमेलु लुकाकु युभेन्टसलाई दिने र डिबाला सोही डिलमा लिन तयार रहेको खबर आएको थियो ।
तर, डिबाला स्वयं भने क्लब छाड्ने पक्षमा नरहेको खबर इटालियन मिडियाले जनाएका छन् । डिबालाले आफू युभेन्टसमै खुसी रहेको र आफ्नो स्थानका लागि टोलीमै रहेर संघर्ष गर्ने क्लबलाई बताएका छन् ।
गत सिजन डिबालाले युभेन्टसमा निकै कम मात्रै समय पाए । क्रिस्टियानो रोनाल्डोको अनुबन्धपछि डिबालाको समय कटौती भएको छ भने उनको गोल संख्या पनि स्वात्तै घटेको छ ।
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १०:०६