नेइमार फर्काउने विषयमा जाभीले दिए यस्तो सुझाव

एजेन्सी, साउन १२
स्पेनिस बार्सिलोनाका पूर्वकप्तान तथा लिजेन्ड खेलाडी जाभी हर्नान्डेजले ब्राजिलियन खेलाडी नेइमारबारे धारणा राखेका छन् । हाल कतारी क्लब अल सदाको प्रशिक्षक रहेका स्पेनिस खेलाडीले बार्सिलोनालाई नेइमार फर्काउने विषयमा सुझावसमेत दिएका छन् ।

जाभीले नेइमार एक प्रभावशाली खेलाडी भएको भन्दै तारिफसमेत गरेका छन् । तर, उनलाई बार्सिलोनाले फर्काउने विषयमा भने फरक मत राखेका छन् । हाल फ्रेन्च क्लब पिएसजीमा रहेका नेइमारसँग असाधारण क्षमता भएको जाभीले बताए ।

‘मेरा लागि नेइमार एक असल व्यक्ति, नम्र र मेहनती खेलाडी हुन् । उनी फुटबलका दृष्टिले एक बम हुन् । उनको क्षमता शानदार छ,’ जाभीले भने, ‘उनी जति समय बार्सिलोनामा रहे, एकदमै राम्रो गरे ।’

नेइमार सन् २०१३ मा बार्सिलोनामा अनुबन्ध भएपछि जाभीसँग दुई सिजन सँगै बिताएका थिए । जाभीले सन् २०१५ मा बार्सिलोना छाडेका थिए । नेइमार पनि सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी गएका थिए ।

त्यसैगरी, जाभीले नेइमार बार्सिलोना फर्किने विषयमा धारणा राखे । ‘म सधैं नेइमारको भलो चाहन्छु । किनभने, उनी एक राम्रा खेलाडी हुन् । तर, बार्सिलोना फर्किन उनलाई सजिलो छैन । फर्किए पनि उनी सफल हुनेमा प्रशस्तै शंकाहरू छन् । यो कुरा उनलाई पनि छ,’ जाभीले भने ।

जाभीले अघि थपे, ‘बार्सिलोनाले ग्रीजम्यान अनुबन्ध गरिसकेको छ । अब क्लबले महँगो पैसा खर्चेर नेइमार वा अन्य कोही भन्दा पनि राम्रो क्षमता भएका युवा फरवार्ड ल्याउनुपर्छ । यो हुँदैन भने ‘बी’ टिमका खेलाडीलाई सिनियर टिममा ल्याएर तयार पार्नुपर्छ । मलाई थाहा छ, ‘बी’ टिममा क्षमतावान् युवा खेलाडी छन् ।’

जाभीले नेइमार बार्सिलोना फर्किने सम्भावना निकै कम रहेको पनि बताए । ‘मेरो विचारमा नेइमार पुनः क्याम्प नोउ फर्किने सम्भावना ज्यादै कम छ । त्यहाँ थुप्रै करण छन्, यो कुरा सबैलाई थाहा छ,’ जाभीले भने ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०३:३६
Loading...