महासंघले फेरि खोल्यो मेस्सीविरुद्धको फाइल : लामो प्रतिबन्ध लाग्न सक्ने !

एजेन्सी, साउन ११
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) लाई ‘एक भ्रष्ट संस्था’ भएको आरोप लगाउने अर्जेन्टिनी कप्तान लिओनल मेस्सीविरुद्ध महासंघले पुनः छानबिन अघि बढाएको छ । यसै महिनाको पहिलो साता ब्राजिलमा सकिएको कोपा अमेरिका दौरान मेस्सीले आयोजक संस्था भ्रष्ट आरोप लगाएका थिए ।

आफ्नो सो आरोप फिर्ता लिँदै मेस्सीले अघिल्लो साता महासंघसँग लीखित रूपमै माफी मागेका थिए । तर, महासंघले पुनः मेस्सीविरुद्ध छानबिन गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

कोपामा तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलक्रममा विपक्षी खेलाडीसँग जुधेपछि रातो कार्ड पाएका मेस्सीलाई यसअघि महासंघले एक खेलमा प्रतिबन्ध लगाउँदै १५ सय अमेरिकी डलर जरिमाना भराउने निर्णय गरेको थियो ।

तर, महासंघले अहिले मेस्सीलाई यसअघि सुनाइएको फैसला नै अन्तिम नभएको बताउँदै मेस्सीमाथि थप र बिस्तृतमा छानबिन चलिरहेको महासंघको स्रोत उद्धृत गर्दै ‘टिवाईसी स्पोर्टस्’ले रिपोर्ट छापेको छ ।

खबरअनुसार महासंघको छानबिन सकिएपछि मेस्सीमाथि कम्तीमा दुई महिनादेखि बढीमा ६ महिनासम्मको प्रतिबन्ध लाग्ने सक्नेछ । उनीमाथि आर्थिक जरिमानासमेत हुनेछ ।

महासंघले यसअघि मेस्सीलाई सुनाइएको एक खेलको प्रतिबन्ध र १५ सय डलर जरिमाना चिलीविरुद्धको खेलक्रममा पाएको रातो कार्ड र ‘अभद्र व्यवहार’का लागि मात्रै भएको बताएको छ ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०७:०४
Loading...