बिदा मनाएर मेस्सी बार्सिलोना फर्किए

एजेन्सी, साउन १०
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लिओनल मेस्सी बिदा सकाएर बार्सिलोना फर्किएका छन् । उनी आज (शुक्रबार) आफ्नो परिवारसहित बार्सिलोना ल्यान्ड भएका हुन् ।

मेस्सी जुलाई ७ मा ब्राजिलमा कोपा अमेरिका फुटबलमा चिलीसँग तेस्रो स्थानका लागि भएको खेलपछि बिदामा थिए । अन्तर्राष्ट्रिय ड्युटीमा सहभागी भएका उनी अन्य सहकर्मीभन्दा केही ढिला गरी क्लब फर्किएका हुन् । कोपामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो ।

बार्सिलोनाको टोली भने हाल प्रि–सिजन टुरमा जापानमा छ । बार्सिलोनाले जापानमा राकुटेन कप खेलिरहेको छ । परिवारसँग बिदा र घुमघाममा रहेका मेस्सी सो टोलीबाहिर रहेका छन् ।

बार्सिलोना फर्किएसँगै मेस्सीले अगस्ट ४ मा इंग्लिस क्लब आर्सनलविरुद्ध क्याम्प नोउमा हुने ग्याप्पर कप खेल्ने भएका छन् । सो प्रतियोगिता बासिलोनाले वार्षिक रूपमा मैत्रीपूर्ण खेलका रूपमा आयोजना गर्ने गर्छ ।

बार्सिलोनाका बिदामा रहेका अर्का फरवार्ड लुइस स्वारेज पनि अघिल्लो दिनै बार्सिलोना फर्केर शुक्रबारबाट प्रशिक्षणमा सामेल भइसकेका छन् ।

प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार १४:३५
Loading...