रोनाल्डोबिनाको युभेन्टस कोरियन टिमसँग हारबाट मुस्किलले बच्यो !

काठमाडौं, साउन १०
आफ्ना सुपरस्टार क्रिस्टिायनो रोनाल्डोबिनै मैदान उत्रिएको इटालियन क्लब युभेन्टस एसिया क्षेत्रको मैत्रीपूर्ण खेलमा साउथ कोरियन टिमसँग हारबाट मुस्किलले बचेको छ । आज साँझ कोरियामा भएको मैत्रीपूर्ण खेलमा युभेन्टस टिम के लिगसँग ३–३ को बराबरीमा रोकिएको हो ।

युभेन्टसले कोरियाको शीर्ष लिग के लिगको वर्षको उत्कृष्ट टिमसँग खेलेको हो । सो टिममा गत सिजनको वर्षका सर्वोत्कृष्ट टिमका खेलाडी सहभागी थिए । अर्थात् लिगका सुपरस्टार र उत्कृष्ट खेलाडीको संयुक्त टिमसँग युभेन्टसले मैत्रीपूर्ण खेल खेलेको हो । कोरियन टिममा लिग खेल्ने विभिन्न टिमका प्रमुख खेलाडी सहभागी थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले ३–१ गोलले पछि परेर अन्तिम दुई मिनेटमा २ गोल गरेर बराबरी गर्दै हारबाट बचेको थियो । कोरियन टिमका लागि खेलको सातौं मिनेटमै ओस्मारले सुरुअती गोल गरेका थिए । उनले करिब २५ यार्ड दूरीबाट हानेको कडा प्रहारले सोझै जाली चुमेको थियो ।

तर, गोल खाएको २ मिनेटमै युभेन्टस खेलमा फर्कियो । उसका लागि नवौं मिनेटमा युवा खेलाडी मुराटोरेले बक्सभित्रबाट गोल गर्दै खेल १–१ बनाए । तर, खेलको ४४औं मिनेटमा कोरियन टिमले पुनः खेलमा अग्रता लियो । उसका लागि केसिन्हाले बक्सभित्रबाट आकर्षक गोल गरेका थिए । सो गोलपछि टिम के लिगले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा पनि कोरियन टिम हाबी भयो । दोस्रो हाफ सुरु भएको ४ मिनेटमै कोरियन टिमका लागि टागार्टले गोल गर्दै खेल ३–१ बनाए । उनले बक्सभित्रबाट गोल गरेका थिए ।

त्यसपछि खेलमा फर्किन संघर्ष गरिरहेको युभेन्टसले ७९औं मिनेटमा गोल हान्यो । जहाँ माटुइडीले हेडिङ गोल गर्दै खेल ३–२ बनाए । दोस्रो गोल गरेको २ मिनेटमै युभेन्टसले बराबरी गोल हान्यो । सो गोल ८१औं मिनेटमा युवा खेलाडी पेरेरियाले कोरियन टिमका डिफेन्डरलाई छलाउँदै आकर्षक तरिकाले गरेका थिए ।

मैत्रीपूर्ण खेल भएकाले ३–३ को बराबरीपछि इन्जुरी समयसमेत थप नगरी खेललाई ३–३ मै टुंगाइएको थियो ।

प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार १४:२०
Loading...