हामीले खेलाडी अनुबन्धमा कमजोरी गरिरहेका छौं : भाल्भर्डे

एजेन्सी, साउन १०
स्पेनिस बार्सिलोनाले प्रि–सिजनअन्तर्गत जापानमा राकुटेन कपमा भोलि जापानी क्लब भिसेल कोबेसँग आफ्नो दोस्रो खेल खेल्दैछ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले क्लब अझै पनि केही खेलाडी अनुबन्ध गर्ने प्रयासमा रहेको बताए ।

अघिल्लो वर्षबाटै क्लबले सरुवा बजारमा केही न केही कमजोरी गर्दै आएको अहिले आफूलाई अनुभूत हुन थालेको भाल्भर्डेले बताए । ‘प्रशिक्षकका ठाउँबाट हेर्दा पछिल्ला वर्ष सरुवा बजारमा हामीले केही न केही कमजोरी गरिरहेका छौं । तर, यो कुरा क्लबसँग सम्बन्धित छ,’ भाल्भर्डेले भने ।

उनले गत सिजनको असफलतालाई ख्याल गरेर बार्सिलोनाले अब रक्षापंक्तिका खेलाडी भित्र्याउने तयारी थालेको बताए । ‘गत सिजन हाम्रा लागि खराब रह्यो । हामीले महत्त्वपूर्ण प्रतियोजिता जित्न सकेनौं । यसका कारणमध्ये टोलीको फितलो रक्षापंक्ति एक थियो,’ भाल्भर्डेले भने, ‘अहिले पनि हामीसँग यो समस्या छँदैछ । मलाई टोलीको समस्या थाहा छ ।’

उनले अघि थपे, ‘क्लब अहिले रक्षापंक्तिमा एक प्रमुख खेलाडी भित्र्याउन प्रयास गरिरहेको छ । सम्भवतः हामी एक प्रमुख लेफ्ट ब्याक खेलाडी भित्र्याउँदै छौं । यसो गर्दा नयाँ सिजनमा रक्षापंक्तिमा सुधार हुने अपेक्षा हाम्रो छ ।’

भाल्भर्डेले अब बार्सिलोनाले फरवार्डभन्दा रक्षापंक्तिलाई मजबुत बनाउन युवा डिफेन्डर र मिडफिल्डबाट पनि गोल गर्न ‘क्रिएटिभ युवा मिडफिल्डर’ आवश्यक रहेको बताए । ‘ग्रीजम्यानको अनुबन्धपछि हाम्रो फरवार्ड लाइन पूर्ण भएको छ । अब रक्षापंक्ति र मिडफिल्ड सुधार्न बजेट खर्चिनु आवश्यक छ,’ भाल्भर्डेले थपे ।

प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार १३:१६
Loading...