पिएसजीका अध्यक्षले बार्सिलोनालाई पठाए ‘अन्तिम सन्देश’

एजेन्सी, साउन १०
आफ्ना पूर्वस्टार ब्राजिलियन नेइमार अनुबन्ध गर्न लागिपरेको बार्सिलोनाको सो प्रयास झन् कठिन बनेको छ । क्लब पिएसजी आफ्ना कीर्तिमानी खेलाडी बार्सिलोनालाई बेच्न राजी नभएपछि बार्सिलोनाको प्रयासमा ब्रेक लाग्ने भएको हो ।

स्पेनिस मिडिया ‘मुन्डो डेपोर्टिभो’का अनुसार यसै साता बार्सिलोनाले अन्तिम प्रयासस्वरूप पिएसजीलाई नेइमार बेच्न चाहे–नचाहेको विषयमा स्पष्ट धारणा मागेको थियो । जसमा पिएसजीका अध्यक्ष नासिर अल खिलाफीले बार्सिलोनाका अध्यक्षका नाममा आफूहरू नेइमार बेच्ने पक्षमा नरहेको जवाफ फर्काएका छन् ।

नेइमारका लागि आफूहरूले चाहेजस्तो आकर्षक अफर बार्सिलोनाबाट नआउने संकेत देखेपछि पिएसजीले नेइमारको बार्सिलोना फिर्तीलाई ‘नो’ भनेको खबरमा उल्लेख छ । यसअघि खिलाफीले स्पेनबाट उचित अफर आए नेइमारलाई छाड्ने बताएका थिए ।

त्यसपछि बार्सिलोनाले आफ्ना स्टार खेलाडीद्वय ब्राजिलियन फिलिपे कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेलेसहित ४० मिलियन युरोको अफर गरे पनि पिएसजीले इन्कार गरेको थियो । त्यसपछि बार्सिलोनाले दुई खेलाडी यथावत राख्दै रकम ४० बाट बढाएर १०० मिलियनको अफर गरे पनि पिएसजी अनिच्छुक देखिएपछि बार्सिलोनाले पिएसजीसँग नेइमारको अवस्थाबारे जानकारी मागेको थियो ।

जसमा पिएसजीले बार्सिलोनालाई आफूहरूको योजना नेइमारलाई बेच्नु नरहेको जवाफ दिए बार्सिलोनाको आशामा झट्का दिएको छ । नेइमार २ वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । तर, पिएसजीमा ठूला सफलता पाउन नसकेपछि नेइमार यसै समरमा पिएसजी छाड्ने तयारीमा रहेको चर्चा छ ।

नेइमार हाल पिएसजीको टोलीमा प्रशिक्षण गरिरहेका छन् । उनी प्रि–सिजनअन्तर्गत चीन भ्रमणको टोलीमा सहभागी हुनेछन् ।

प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार ०७:४४
Loading...