बार्सिलोनाले कुबो भित्र्याउन नसक्नु ठूलो घाटा : इनिएस्टा

एजेन्सी, साउन १०
स्पेनिस रियल मड्रिडले केही समयअघि मात्रै ‘जापानी मेस्सी’ भनेर चिनिने युवा खेलाडी ताकेफुसा कुबोलाई भित्र्यायो । हाल १८ वर्ष पुगेका कुबोले रियलको सुरुआती खेलमै गहिरो प्रभाव जमाएका छन् । उनको खेल कौशलको तारिफ आफ्नो टिमका प्रशिक्षक–सिनियर खेलाडीदेखि विपक्षी टिमका प्रशिक्षकसम्मले गरेका छन् ।

गत साता रियल मड्रिडले इन्टरनेसनल च्याम्पियन्स कपमा जर्मन क्लब बार्यन म्युनिखविरुद्ध खेल्दा सोही खेलबाट डेब्यु गरेका कुबोले हेर्नलायक प्रदर्शन गरेका थिए यो । भलै, सो खेल रियल हारेकोे थियो ।

रियलले जापानी क्लब टोक्यो एफसीबाट मात्रै २ मिलियन मूल्यमा भित्र्याएको कुबो बार्सिलोनाका पूर्वखेलाडी तथा बार्सिलोनकै एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनी सन् २०११ मा बार्सिलोनाको एकेडेमीमा भर्ना भएर सन् २०१५ मा छाडेका थिए ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड खेलाडी आन्द्रेस इनिएस्टाले बार्सिलोनाले आफ्नै एकेडेमीबाट उत्पादित कुबोजस्ता खेलाडी गुमाउनु ठूलो घाटाको कुरा भएको बताएका छन् । ‘कुबोलाई म राम्रोसँग जान्दछु । गत सिजन मैले लिगमा उनीविरुद्ध खेलेको छु । उनी आफ्नो उमेर र शारीरिक अवस्थाभन्दा धेरै माथिल्लो स्तरबाट खेल्छन् । म उनीबाट एकदमै प्रभावित छु,’ इनिस्टाले भने ।

इनिएस्टाले कुबोजस्ता युवा खेलाडी बार्सिलोनाले आँखैअघि गुमाउनु ठूलो घाटा हुने बताए । ‘कुबो विशेष क्षमता भएका खेलाडी हुन् । उनी भविष्यमा एक ठूला स्टार खेलाडी हुनेमा दुईमत छैन । उनी खेल्कै लागि जन्मिएका हुन्,’ इनिएस्टाले भने ।

उनले अघि थपे, ‘उनी बार्सिलोनाको एकेडेमीबाट उत्पादन भएका खेलाडी हुन् । उनलाई बार्सिलोनाले नै भित्र्याओस् भन्ने मेरो इच्छा थियो । मैले क्लबका अध्यक्षलाई सुझावसमेत दिएको थिएँ । उनी बार्सिलोनाले गुमाउनै नहुने खेलाडी थिए । तर, अब अवस्था बदलिइसक्यो ।’

इनिएस्टाको टिम भिसेल कोबेले भोलि राकुटेन कपमा जापानमा पूर्वक्ल बार्सिलोनाविरुद्ध खेल्दैछ । अघिल्लो वर्ष बार्सिलोना छाडेपछि पूर्वकप्तान इनिएस्टाले पहिलोपटक बार्सिलोनाविरुद्ध खेल्दैछ ।

प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार ०४:३९
Loading...