मेस्सीको विषयमा जाभीले भाल्भर्डेलाई दिए यस्तो ‘सुझाव’

एजेन्सी, साउन ९
हाल कतारी क्लब अल सदाको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले बार्सिलोनामा लिओनल मेस्सीको नयाँ सिजन कस्तो भूमिका हुनसक्छ भन्नेबारे धारणा राखेका छन् । विगतमा लामो समय मेस्सीसँगै खेलेका उनले आगामी सिजन बार्सिलोनाले मेस्सीलाई ध्यानपूर्वक प्रयोग गर्नुपर्ने बताएका छन् ।

जाभीले मेस्सी यतिबेला दबाबपूर्ण घडीमा रहेको र उनको उमेरसमेत बढ्दो रहेकाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले मेस्सीलाई विशेष योजनासाथ खेलाउनुपर्ने बताएका छन् । मेस्सी टोलीका निर्णायक र गोल मेसिन खेलाडी भएकाले बार्सिलोनाले सिजनलाई सफल पार्न मेस्सीलाई शतप्रतिशत फिट राखेर खेलाउनुपर्ने बताएका हुन् ।

‘मलाई थाहा छ, मेस्सी अहिले दबाब र निराशामा छन् । अन्तर्राष्ट्रिय असफलताबाट उनी विचलित होलान् । नयाँ सिजनमा उनी स्वभाविक दबाबमा हुनेछन् । उनी आफैंले पनि आफ्नो ख्याल गर्नुपर्छ,’ जाभीले भने ।

नयाँ सिजनमा प्रशिक्षक भालभर्डेले मेस्सीका लागि खास योजना बनाएर टोली निर्माण गर्नुपर्ने जाभीले बताए । ‘यदि बार्सिलोना नयाँ सिनज ठूला उपाधि जित्न चाहन्छ भने मेस्सीको हेरचाहमा प्रशिक्षकले विशेष ध्यान दिनुपर्छ । शरीरिक र मानसिक अवस्थालाई समेत ख्याल गर्दै उनलाई बिनादबाब खेल्ने वातावरण प्रशिक्षकले मिलाउनुपर्छ,’ जाभीले सुझाव दिए ।

जाभीले मेस्सी बार्सिलोनाका लागि निर्णायक खेलाडी भएकाले उनले अझैं टिमलाई धेरैथोक दिनसक्ने बताए । ‘मेस्सी सधैं विशेष छन् । उनले नयाँ सिजनमा पनि नेतृत्वयदायी प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ जाभीले भने, ‘प्रशिक्षकले उनलाई च्याम्पियन्स लिग जित्ने योजनाअनुसार प्रयोग गर्दा उत्तम हुन्छ ।’

बार्सिलोनाले हालै फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेकाले उनले पनि टिमलाई ठूलो आड दिने जाभीले बताए । ‘ग्रीजम्यान विश्वस्तरका खेलाडी हुन् । बार्सिलोनालाई उनीजस्तै खेलाडी चाहिन्छ । उनले टिमलाई धेरै कुरा दिनेमा म आशा राख्छु,’ जाभीले भने, ‘उनी आएपछि अबका दिनमा मेस्सीमाथिको दबाब अवश्य घट्नेछ ।’

गत सिजन मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका थिए । तर, यसै महिना ब्राजिलमा भएको कोपा अमेरिकामा भने मेस्सीको प्रदर्शन कमजोर रह्यो । अर्जेन्टिना सेमिफाइनलबाट आउट हुँदा मेस्सीले प्रतियोगितामा जम्मा १ गोल मात्रै गरे ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १५:३१
Loading...