च्याम्पियन्स कप : युनाइटेडले टोटनह्यामलाई हरायो

काठमाडौं, साउन ९
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले लिग प्रतिस्पर्धी क्लब टोटनह्यामलाई हराएको छ । प्रि–सिजनअन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा आज भएको खेलमा युनाइटेडले टोटनह्यामलाई २–१ ले हराएको हो ।

चीनको होङकाउ रंगशालामा भएको खेलमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियाल र एन्जल गोमेजले गोल गरे भने टोटनह्यामका लागि लुकास मोउराले गोल गरे ।

युनाइटेडका लागि खेलको २१औं मिनेटमा मार्सियालले गोल गरेर टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । त्यसपछि ६५औं मिनेटमा मोउराले टोटनह्यामका लागि गोल गर्दै खेल १–१ बनाए ।

तर, युनाइटेडले खेलको ८०औं मिनेटमा विजयी गोल हान्यो । अन्तिम १० मिनेट बाँकी रहेका बेला गोमेजले गोल गरेपछि खेल युनाइटडले जित्यो ।

यो जितसँगै युनाइटेडले दुईमा दुई खेल नै जितेर ६ अंकसहित चौथो स्थानमा छ । पराजित टोटनह्याम ३ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १३:५१
Loading...