यस वर्ष रोनाल्डोले ‘व्यक्तिगत ट्रिबेल’ जित्ने सम्भावना कति ?

एजेन्सी, साउन ९
वर्ष २०१९ लाई इटालियन युभेन्टस तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘भव्य’बनाउन प्रयास गरिरहेका छन् । गत सिजनको प्रदर्शन र उनले पाएका महत्त्वूर्ण सफलताको बलमा ३४ वर्षीय रोनाल्डो यसवर्ष व्यक्तिगत ठूला अवार्डमा ‘ट्रिबेल’मा बाजी मार्ने दौडमा छन् ।

गत सिजन र यस सिजनको सुरुआतलाई हेर्दा रोनाल्डोले यस वर्ष प्रतिष्ठित बालोन डि‘ओर, फिफा बेस्ट प्लेयर अफ् द इयर तथा युइएफए प्लेयर अफ् द इयरको अवार्डका लागि दाबेदार हुने प्रशस्तै आधार छन् ।

यस वर्ष यी तीनवटै अवार्ड जित्ने दौडमा रोनाल्डोसँगै बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइकसमेत रहेका छन् । गत सिजनको प्रदर्शनको आधारमा हाल टप–३ मा भान डाइक, मेस्सीसँगै रोनाल्डो छन् ।

जसमा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेस्सीको प्रदर्शन निराशाजनक रहनु र रोनाल्डोले भने शानदार बनाउनुले गोल संख्या छाड्ने हो उपाधि र सफलताका आधामा मेस्सीभन्दा रोनाल्डो निकै अघि छन् । किनभने, मेस्सीले गत सिजन हासिल गरेको प्रमुख उपलब्धि भनेको सिजनभरमा ५१ गोल र १९ असिस्टसहित ला लिगाको उपाधि मात्रै हो ।

तर, रोनाल्डोले भने युभेन्टसका लागि २८ गोलसहित १२ असिस्ट गर्दा उनले युभेन्टसबाट दुई प्रमुख उपाधि जिते भने पोर्चुगललाई युइएफए नेसन्स लिगको पहिलो संस्करणको उपाधि जिताउन पनि मुख्य भूमिका निभाए ।

गत सिजन रोनाल्डो सिरी ‘ए’को सिजनको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा दुई उपाधि जित्दा उनले प्रमुख भूमिका निभाएका थिए । यता, पोर्चुगललाई नेसन्स लिगको उपाधि जिताउन सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध रोनाल्डोले नै सनसनीपूर्ण ह्याट्रिक गर्दै टिमलाई फाइनलको बाटो देखाएका थिए ।

पछिल्लो समय विभिन्न फुटबल विश्लेषकहरूले पनि विभिन्न आधारबाट हेर्दा यस वर्ष रोनाल्डोले बालोन डि‘अ‍ोरसहित प्रमुख व्यक्तिगत अवार्ड जित्नुपर्ने बताउँदै आएका छन् । गत वर्ष रियल मड्रिडबाट युभेन्टस पुगेका उनले लिगको उत्कृष्ट खेलाडी बन्दै दुई उपाधि जित्नु र देशलाई प्रमुख उपाधि जिताउनुलाई बालोन डि‘ओर जित्न सक्ने प्रमुख आधार मानेका छन् ।

गत सिजन नै रोनाल्डो च्याम्पियन्स लिगमा १०० खेल जित्ने पहिलो खेलाडी बनेका थिए । सो प्रतियोगितामा १०० खेल जित्ने रोनाल्डो एक मात्रै खेलाडी हुन् । उनले च्याम्पियन्स लिगमा कूल १६८ खेलबाट १२७ गोल गरेका छन् ।

यस वर्ष रोनाल्डो एक मात्रै यस्ता खेलाडी हुन्, जसले क्लब र देशका लागि ह्याट्रिक गरेका छन् । उनले पोर्चुगलका लागि नेसन्स लिगको सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध र युभेन्टसबाट च्याम्पियन्स लिगको अन्तिम १६ मा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका थिए ।

त्यत्ति मात्रै हैन, रोनाल्डोले नयाँ सिजनको प्रि–सिजनमा पनि सुखद् सुरुआत गरेका छन् । उनले युभेन्टसका लागि दुई खेलबाट २ गोल गरिसकेका छन् ।

यता, यस वर्ष बालोन डि‘ओरमा प्रमुख दाबेदारका रूपमा चर्चामा रहेका लिभरपुलका भान डाइक सबैभन्दा अघि छन् । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन तथा प्रिमियर लिगमा उपविजेता बनाउनेक्रममा उनले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।

तर, बालोन डि‘ओर २०१९ सम्मको प्रदर्शनलाई आधार मानेर दिइने हुँदा यस सिजनको सुरुआती तीन महिना रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै गोल संख्या बढाउन सके पनि उनी सबैभन्दा बलियो दाबेदार बन्नेछन् ।

यही अवस्था बार्सिलोनाका मेस्सीको हकमा पनि लागू हुनेछ । हाल बार्सिलोनाको प्रि–सिजनको टोलीमा नरहेका मेस्सीले नयाँ सिजन उत्कृष्ट प्रदर्शन गर्न सके उनी पनि बलिया दाबेदार बन्नेछन् ।

अर्थात्, अब नयाँ सिजनको सुरुआती तीन महिनामा रोनाल्डो, मेस्सी र भान डाइकमा जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ, उसैले प्रमुख व्यक्तिगत अवार्ड जित्न सक्ने खेल पण्डितहरूको विश्लेषण छ ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १०:५८
Loading...