बुफोनले तीन पेनाल्टी रोकेपछि युभेन्टसले मिलानलाई हरायो !

काठमाडौं, साउन ८
भेट्रान गोलकिपर जियानलुइजी बुफोनले तीन पेनाल्टी रोकेपछि युभेन्टसले लिग प्रतिस्पर्धी क्लब इन्टर मिलानलाई हराएको छ । प्रि–सिजनअन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा आज भएको दोस्रो खेलमा युभेन्टसले मिलानलाई ४–३ ले हराएको हो ।

युभेन्टसको जितमा निर्धारित ९० मिनेटमा क्रिस्टियानो रोनाल्डो र पेनाल्टी सुट आउटमा बुफोन नायक बने । निर्धारित समयमा युभेन्टस पछि परेका बेला रोनाल्डोले बराबरी गोल गरे भने पेनाल्टी सुट आउट सडन डेथसम्म पुग्दा बुफोनले तीन पेनाल्टी रोकपछि युभेन्टसको जित सम्भव भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा मिलानले खेलको १०औं मिनेटमा उपहार गोलको मदतमा अग्रता लिएको थियो । कर्नर किकमा आएको बल क्लियर गर्न खोज्दा युभेन्टसका नयाँ डिफेन्डर माथिस डि लिग्टको खुट्टामा लाग्दै बलले पोस्टको दिशा लिएपछि युभेन्टस खेलमा पछि परेको थियो ।

त्यसपछि युभेन्टसलाई खेलमा फर्किन खेलको ६८औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । जहाँ बक्स बाहिरबाट रोनाल्डोले हानेको फ्रि किकले सोझै जाली चुमेपछि युभेन्टस खेलमा फर्किएको थियो । त्यसपछि निर्धारित ९० मिनेट र ४ मिनेटको इन्जुरी समयमा समेत दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा पुग्यो ।

दोस्रो हाफदेखि युभेन्टसको पोस्ट सम्हालेका बुफोनले आज शानदार प्रदर्शन गरे । उनले मिलानका तीन पेनाल्टी प्रहार बचाए । युभेन्टसका लागि जुआओ कान्सेलो, क्रिस्टियानो रोनाल्डो, इम्री च्यानले गोल गर्दा नयाँ डिफेन्डर आड्रेन राबिओट र फेडरिको बर्नान्डेची चुकेका थिए । राबिओटको प्रहार अकासिएको थियो भने बर्नानडेचीको प्रहार बारमा लाग्दै फिर्ता आएको थियो ।

यता, मिलानका लागि आड्रेय रानोकछिया, सामुएल लोग्नोले पेनाल्टी गुमाउँदा जर्जियो पुस्कास, जाओ मारियो र निकोलो बरेल्लाले गोल गरेका थिए ।

सुरुआती ५–५ पेनाल्टीमा ३–३ को बराबरी भएपछि पेनाल्टी सडन डेथमा पुग्यो । जहाँ मिलानका लागि छैटौं पेनाल्टीमा बोर्जा मालेरोको प्रहार बुफोनले रोके भने युभेन्टसका लागि छैटौं पेनाल्टीमा मेरिह डेमिरालले गोल गरेपछि युभेन्टसले ४–३ ले जित्यो ।

यससँगै युभेन्टसले कपमा खेलेका दुई खेलमा एक खेल हारेर एक खेल जितेको छ । ऊ ३ अंकसहित सातौं स्थानमा छ । ऊ यसअघि टोटनह्यामसँग हारेको थियो । यता, पराजित मिलान जितविहीन हुँदै दशौं स्थानमा छ ।

प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १३:५४
Loading...