क्लब छाड्ने चर्चाबीच नेइमारलाई पिएसजीको टोलीमा किन राखियो ?

एजेन्सी, साउन ७
यसै समरमा क्लब छाड्ने चर्चामा रहेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार खेलाडी नेइमारलाई प्रि–सिजन टुर टोलीमा राखिएको छ । प्रि–सिजन प्रशिक्षणमै ढिला गरी पुगेर क्लबको कारबाहीमा परेका नेइमारलाई टोलीमा राखिएपछि उनको सरुवामा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।

पिएसजीले आज सार्जजनिक गरेको चीन भ्रमणको टोलीमा नेइमारलाई पनि राखिएको छ । पिएसजीमा रहने–नरहनेमा आशंका रहेका बेला पिएसजीले आफ्नो ३३ सदस्यीय चीन भ्रमणको टोलीमा नेइमारलाई समावेश गरेको हो ।

प्रशिक्षक थोमस टचेलको नेतृत्वमा पिएसजीले जुलाई २३ देखि अगस्ट ७ सम्म चीनको भ्रमण गर्दैछ । त्यस बीचमा पिएसजीले तीन मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेइमार यतिबेला पूर्वक्लब बार्सिलोना वा रियल मड्रिडमा अनुबन्ध हुनसक्ने चर्चा छ । पिएसजीले पनि नेइमारले क्लब छाड्न चाहेको कुरालाई पुष्टि गरिसकेको छ । तर, उसले नेइमारलाई किन्न चाहने क्लबबाट उचित मूल्यको अफर नआउँदा ठोस निर्णय दिन सकेको छैन ।

क्लब छाड्ने तयारीमा रहे पनि नेइमार भने हाल टोलीसँगै प्रशिक्षण गरिरहेका छन् । भ्रमण टोलीमा परेसँगै अर्को सिजन पनि उनी पिएसजीमै रहनसक्ने संकेत देखिएको छ ।

नेइमार सन् २०१७ मा बार्सिलोनाबाट विश्वकीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पिएसजी गएका थिए । तर, पिएसजीमा ठूला सफलता पाउन नसकेपछि उनले निराश भएर पिएसजी छाड्न लागेको बताइन्छ ।

प्रकाशित मिति July 23, 2019
Loading...