युवा स्टार जाभी सिमोन्सले किन छाडे बार्सिलोना ?

एजेन्सी, साउन ७
स्पेनिस बार्सिलोनाका युवा स्टार खेलाडी जाभी सिमोन्सले क्लब छाडेका छन् । बार्सिलोनाका लागि भविष्यका रूपमा हेरिएका जाभी ला मासिया एकेडेमीका उत्पादक युवा स्टारका रूपमा छाएका थिए । जाभीलाई फ्रेन्च क्लब पिएसजीले अनुबन्ध गरेको हो । पिएसजी त्यही क्लब हो, जसले सन् २०१७ मा बार्सिलोनाबाटै विश्वकीर्तिमानी मूल्यमा ब्राजिलियन नेइमारलाई २२२ मिलियन युरोमा भित्र्याएको थियो ।

यसअघि बार्सिलोनाले आफ्नो एकेडेमीमा जाभीजस्ता स्टार युवा खेलाडी उत्पादन गर्न पाएकोमा गर्व गर्दै आएको थियो । बाल्यावस्थाबाटै जाभी विशेष क्षमताका भएकाले उनीमाथि अन्य क्लबले आँखा लगाउँदै आएका थिए ।

नेदरल्यान्ड्सका स्टार जाभी आफू ७ वर्षको छँदा बार्सिलोनाको एकेडेमीमा भर्ना भएका थिए । उनी यतिबेला ठीक १६ वर्षका भए । बाल्यावस्थामा आएर युवास्थामा क्लब छाडेपछि उनले आफू बार्सिलोनाबाहिर भए पनि बार्सिलोना सधैं आफ्नो मुटुमा हुने बताएका छन् ।

क्लब छाडेपछि उनले सहकर्मी तथा फ्यानहरूका नाममा एक बिदाइ सन्देश लेखेका छन् । सन्देशमा उनले भनेका छन्, ‘बार्सिलोना सधैं मेरो एक हिस्साको रूपमा रहनेछ । यो मेरा लागि निकै जटिल दिन हो । किनभने, यहाँ कसैले पनि अलबिदा भन्न रुचाएका छैनन् ।’

बार्सिलोनासँग सम्झौता सकिएपछि जाभीले क्लबसँग पुनः सम्झौता नगरी क्लब छाड्ने घोषणा गरेका हुन् । यसको अर्थ उनी फ्री ट्रान्सफरमा पिएसजी जानेछन् । जाभीका एजेन्ट मिनो राइओला हुन् ।

राइओला उनै एजेन्ट हुन्, जसको बार्सिलोनासँग खराब सम्बन्ध रहेको बताइन्छ । हालै बार्सिलोनाले डच डिफेन्डर मासिथ डि लिग्टलाई डच क्लब आयाक्सबाट अनुबन्ध गर्न खोज्दा पनि राइओलाले बार्सिलोनाप्रति असहयोगको भूमिका खेलेको चर्चा थियो । डि लिग्टलाई हालै मात्र इटालियन युभेन्टसले भित्र्याएको छ ।

प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार १५:२२
Loading...