रियलबाट ‘दुखद् बिदाइ’को संघारमा रहेका बेल कहाँ जान्छन् ?

एजेन्सी, साउन ६
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना वेल्स स्टार फरवार्ड ग्यारेथ बेललाई यसै समरमा बिदा गर्ने तयारी गरेको छ । यो कुरा रियलका प्रशिक्षक जिनेदिन जिदान स्वयंले पुष्टि गरेका छन् । रियलमा जिदानसँग व्यक्तिगत सम्बन्ध राम्रो नरहेका बेललाई रियलले प्रशिक्षककै कारण बेच्ने तयारी गरेको छ ।

सन् २०१३ मा त्यसबेलाको विश्वकीर्तिमानी मूल्यमा इंग्लिस क्लब टोटनह्यामबाट रियलमा अनुबन्ध भएका बेल ६ वर्षपछि बेर्नाबेउबाट दुखद् बिदाइको संघारमा पुगेका छन् । एकहिसाबले हेर्दा उनी ‘अपमानजनक’ अवस्थाबाट क्लब छाड्नुपर्ने अवस्थामा पुगेका छन् ।

यसैबीच, बेलले रियल छाड्ने चर्चा सुरु भएँगै उनी जान सक्ने सम्भावित क्लबहरूको पनि चर्चा सुरु भएको छ । हालै मात्र बेललाई एक चिनियाँ क्लबले फुटबल इतिहासकै सबैभन्दा धेरै कमाउने फुटबलर बनाउँदै अनुबन्ध गर्न प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ ।

यता, बेल पूर्वक्लब टोटनह्याम जान सक्ने चर्चा पनि सुरु भएको छ । त्योभन्दा बढी उनी जर्मन क्लब बार्यन म्युनिख जान सक्ने सम्भावनाको ठूलो चर्चा छ । बार्यनमा आर्जेन रोबेन र फ्रान्क रिबेरीले सन्यास लिइसकेकाले बेल बार्यनको टोलीमा फिट हुन सक्छन् ।

जर्मन मिडियाले पनि बार्यनले रियलका खेलाडी अनुबन्ध गर्न चासो देखाएको खबर छापेका छन् । तर, बार्यनले बेलका लागि रियलले माग गरेजति रकम तिर्न भने असमर्थ हुने देखिन्छ । रियलमा लामो समय पटक–पटक चोटसँग जुधेका ३० वर्षीय बेलका लागि ऊ सकेसमम कम मूल्य लगाउन चाहन्छ ।

बेललाई रियलले सन् २०१३ मा ८५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनी त्यसबेलाका सबैभन्दा महँगा खेलाडी थिए । बेल अहिले पनि विश्व फुटबलमा सबैभन्दा बढी तलब खाने खेलाडीको सूचीमा पर्छन् ।

प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०९:५७
Loading...