बेललाई ‘इतिहासकै सर्वाधिक कमाउने’ फुटबलर बन्ने बम्पर अफर !

एजेन्सी, साउन ६
स्पेनिस क्लब रियल मड्रिड छाड्ने अवस्थामा रहेका वेल्स स्टार ग्यारेथ बेललाई अनुबन्ध गर्न केही चिनियाँ क्लबहरूले विशेष इच्छा देखाएका छन् । अघिल्लो दिन मैत्रीपूर्ण खेलमा रियल मड्रिड जर्मन क्यब बार्यन म्युनिखसँग हारेपछि मिडियासँग बोल्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले बेलले रियल छाड्ने पुष्टि गरेका थिए ।

रियलमा जिदानसँग व्यक्तिगत रूपमा सम्बन्ध राम्रो बन्न नसकेपछि रियलले बेललाई बेच्ने तयारी गरेको छ । बेल सन् २०१३ मा इंग्लिस क्लब टोटनह्यामबाट त्यसबेलाको विश्वकीर्तिमानी ८५ मिलियन युरोमा रियलमा अनुबन्ध भएका थिए ।

तर, चारपटक युरोपियन च्याम्पियन्स लिग जितेका ३० वर्षीय बेलको रियलसँग सहयात्रा करिब–करिब सकिएको छ । जिदानले उनलाई टोलीमै राख्न छाडेकाले बेल पनि रियल छाड्ने मनस्थितिमा पुगेका छन् ।

बेल रियलबाट बाहिरिने पक्का भएपछि चिनियाँ सुपर लिगका क्लबहरूले बेल भित्र्याउन चासो बढाएका छन् । त्यसमा पनि बेइजिङ गुओआनले त बेललाई बम्पर अफर नै गरेको छ । उसले बेललाई फुटबल इतिहासकै सर्वाधिक धेरै कमाउने फुटबलर बनाएर भित्र्याउने गरी प्रस्ताव गरेको छ ।

चिनियाँ मिडियाका अनुसार सो क्लबले बेललाई प्रतिसाता १ मिलियन पाउन्ड तलब दिने प्रस्ताव गरेको छ । यदि यो प्रस्ताव स्वीकारे बेल सबैभन्दा धेरै तलब खाने खेलाडी बन्नेछन् ।

तर, चिनियाँ प्रस्ताव रियलले स्वीकार्ने सम्भावना भने कम हुन्छ । किनभने, चीनको नियमअनुसार त्यहाँका क्लबले खेलाडी किन्दा सीमित पैसा मात्रै खर्चिन पाउँछन् । बढी पैसा खर्चिएर खेलाडी किन्नु गैरकानुनी मानिन्छ । तर, खेलाडीलाई तलब भने जति पनि दिन क्लबले पाउँछन् ।

यसो हुँदा रियलले बेललाई फ्रि ट्रान्सफरमा वा १०–१५ मिलियनमा चिनियाँ क्लबलाई बेच्नेछैन । ६ वर्षअघि कीर्तिमानी मूल्य खर्चेर किनिएका खेलाडी बेच्दा रियलले कम्तीमा सो मूल्य फिर्ता चाहन्छ । रियलले यो हिसाबले सोचे बेलाई चीन जान पनि समस्या छ ।

यता, बेलका लागि युरोपकै ठूला क्लब जर्मन बार्यन म्युनिख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको चर्चा छ । युरोपियन क्लबलाई बेचेको खण्डमा रियलले राम्रो पैसा लिन सक्छ ।

प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०५:२९
Loading...