बालोन डि‘ओरबारे भान डाइकको यस्तो दाबी

एजेन्सी, साउन ५
सन् २०१९ मा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि‘ओरका लागि इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक र स्पेनिस बार्सलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी मुख्य दौडमा छन् । भान डाइकले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन तथा घरेलु लिगमा टिमलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

यता, मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन तथा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म लैजान महत्त्वपूर्ण भूमिका निभाएका थिए । सोक्रममा मेस्सीले सिजनभरमा ५१ गोल गर्दै १९ असिस्ट गरेका थिए ।

केही समयअघिसम्म सो अवार्डका लागि सबैभन्दा बलियो दाबेदार मानिएका मेस्सी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनालाई उपाधि जिताउन असफल भएपछि उनको दाबेदारी कमजोर बन्यो भने त्यसको फाइदा भान डाइकलाई पुग्ने भएको छ । अहिले विभिन्न सर्वेक्षणहरूले पनि मेस्सीभन्दा अगाडि भान डाइकलाई दाबेदार देखाउँदै आएका छन् ।

यसैक्रममा भान डाइकले बालोन डि‘ओरको विषयमा आफ्नो धारणा राखेका छन् । प्रि–सिजन टुरमा रहेका उनले एक अन्तर्वार्तामा बोल्दै आफूले बालोन डि‘ओर जित्न व्यक्तिगत रूपमा शानदार तथ्यांक नभए पनि यसपटक ‘डिफेन्डरले बालोन डि‘ओर जित्ने समय’ आएको बताएका छन् । उनले प्रष्ट रूपमा आफूलाई दाबेदार नभने पनि यसपटक डिफेन्डरले जित्ने समय आएको बताएर उनले आफूले नै जित्ने दाबी गरेका छन् ।

‘जतिबेला मैले पिएफए प्लेयर अफ् द अवार्ड जितें, त्यत्तिबेलै मैले राम्रो गरेको रहेछु भन्ने सोचेको थिएँ । मेरा लागि त्यो अवार्ड निकै महत्त्वपूर्ण थियो,’ भान डाइकले भने । गत सिजन इंग्लिस प्रिमियर लिगमा भान डाइक सिजनभरिकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

भान डाइकले युरोपियन च्याम्पियन्स लिग जित्नु निकै ठूलो सफलता रहेको बताए । ‘यदि च्याम्पियन्स लिग जित्न सकियो भने सिजन झनै सफल बन्छ भन्ने लागेको थियो । कर्म र भाग्यले साथ दिँदा हामीले जित्यौं पनि,’ उनले भने ।

बालोन डि‘ओरबारे सोधिएको प्रश्नमा भान डाइकले यदि दाबेदारको सूचीमा मानिसहरूले आफूलाई पनि राखिरहेको भए त्यो खुसीको कुरा भएको बताए । ‘यदि मानिस मैले बालोन डि‘ओर जित्न सक्छु भनेर कुरा गरिरहेका छन् भने यो मेरा लागि राम्रै कुरा हो,’ उनले भने, ‘यसमा मेरो केही भन्नु छैन । मलाई कुनै लोभ छैन ।’

बार्सिलोनाका मेस्सीसँग व्यक्तिगत रूपमा उच्च रेकर्ड रहेको पनि भान डाइकले बताए । ‘१० नम्बर जर्सीधारी खेलाडीले यो अवार्ड जित्न सक्ने तथ्य मलाई थाहा छ । किनभने, ५० भन्दा बढी गोल गरेका उनी धेरैका नजरमा छन् । तर, यो समय केही परिवर्तन हुने बेला हो कि ! यदि त्यो समय आए म खुसी नै हुनेछु ।’

सन् २००६ मा इटालियन डिफेन्डर फाविओ कानभारोले जितेयता पुनः डिफेन्डरले यो अवार्ड जित्न सकेका छैनन् । तर, यसपटक भान डाइकले १३ वर्षपछि बालोन डि‘ओर जित्ने डिफेन्डर बन्ने सम्भावना प्रबल छ ।

प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार १४:५१
Loading...