बेल अब मेरो योजनामा पर्दैनन्, उनले रियल छाड्नुपर्छ : जिदान

एजेन्सी, साउन ५
स्पेनिस रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना स्टार वेल्स खेलाडी ग्यारेथ बेललाई बेच्न क्लबले प्रयास गरिरहेको बताएका छन् । प्रि–सिजन टुरअन्तर्गत आज बिहान इन्टरनेसनल च्याम्पियन्स कपमा भएको पहिलो खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ३–१ ले हारेपछि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै फ्रेन्च कोचले यस्तो बताएका हुन् ।

रियलमा बेल जिदानको रोजाइमा नपर्ने पहिलो नम्बरका खेलाडी हुन् । २ वर्षअघि रियल छाड्दा पनि जिदानले बेललाई बेच्न सुझाव दिएका थिए । अहिले पनि बेलप्रति जिदानको धारणा बदलिएको देखिँदैन । र, नयाँ सिजन बेलले जिदानको टोलीमा मौका पाउने कुनै सम्भावना छैन ।

किनभने, आज बिहान बार्यनविरुद्धको खेलमा जिदानले पहिलो र दोस्रो हाफमा छुट्टाछुट्टै दुई टोली खेलाए । तर, दुवै टोलीमा बेल नपर्नुले यसको पुष्टि गर्छ । खेलपछि बेलको अवस्थाबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै जिदानले नयाँ सिजनमा बेल आफ्नो योजनामा नरहेको स्पष्ट पारे ।

‘यो साँचो हो । क्लब ग्यारेथ बेललाई बेच्न प्रयास गरिरहेको छ । आगामी दिनमा के हुन्छ, हामी हेर्छौं,’ जिदानले भने ।

उनले बेल बार्यनविरुद्धको टोलीमा नपर्नुको कारण खुलाए । उनले भने, ‘बेल बार्यनविरुद्धको आजको खेलमा टोलीमा थिएनन् । किनभने, क्लब उनको बिदाइको चरणमा छ । उनी चाँडै रियलबाहिर हुनेमा म आशावादी छु । उनी रियलबाहिर हुँदा सबैका लागि उत्तम हुनेछ । किनभने, अब उनी मेरो योजनामा पर्दैनन् ।’

जिदान रियलको प्रमुख प्रशिक्षक बनेदेखि नै उनले बेललाई मन पराएका थिएनन् । तर, जिदानकै नेतृत्वमा बेलले महत्त्वर्ण खेलहरूमा सनसनीपूर्ण प्रदर्शन गरेका छन् । बेल उनै खेलाडी हुन्, जसले दुई वर्ष रियलले च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई फाइनलमा हराएर लगातार तेस्रोपटक उपाधि जित्दा उनैले २ सनसनीपूर्ण गोल गरेका थिए ।

सन् २०१३ मा इंग्लिस क्लब टोटनह्यामबाट त्यसबेलाको विश्वकीर्तिमानी मूल्यमा रियल पुगेका बेलको बिदाइ पनि रियलबाट दुखद् अवस्थाबाटै हुने भएको छ । यसअघि क्रिस्टियानो रोनाल्डोको बिदाइमा समेत क्लबले कुनै कार्यक्रम गरेको थिएन । पछि रोनाल्डोले क्लब रियल, सहकर्मी र आफ्ना समर्थकहरूका नाममा सामाजिक सन्जालबाट एक पत्र लेख्दै बिदाइ मागेका थिए ।

रियलले आफ्ना खेलाडीको सम्मानजनक बिदाइ नगरी ‘अपमानित बनाएर लखेट्ने गरेको’ भन्दै पटक–पटक आलोचना हुँदै आइरहेको छ । यसअघि रोनाल्डो मात्रै नभएर लिजेन्ड गोलरक्षक इकर क्यासिल्लासको बिदाइ पनि निकै पीडादायी अवस्थाबाट भएको थियो । लामो समय रियलमा बिताएका क्यासिल्लासले एक्लै पत्रकार सम्मेलन गरेर रुँदै फ्यानहरूसँग बिदा मागेका थिए ।

प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार ०४:१३
Loading...