‘बार्सिलोनाको जर्सी लगाएपछि’ डे जोङले देखेको त्यो सपना ……

एजेन्सी, साउन ४
स्पेनिस क्लब बार्सिलोनाका नयाँ मिडफिल्डर फ्रेन्की डे जोङ आगामी सिजन टोलीका प्रमुख खेलाडी बन्ने पक्का छ । २२ वर्षीय डच खेलाडीलाई बार्सिलोनाले डच क्लब आयाक्सबाट हालै मात्र भित्र्याएको हो ।

बार्सिलोनाको घरेलु रंगशालामा तामझामसाथ सार्वजनिक गरिएका डे जोङले हालै एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनाको जर्सीमा आफूले कुनै न कुनै बेला ट्रिबेल उपाधि जित्ने सपना देखेको बताएका छन् । ‘मुन्डो डेपोर्टिभो’सँग कुरा गर्दै उनले बार्सिलोनामा आफूले करिअरका सबैभन्दा सुनौला वर्ष बिताउने र त्यसक्रममा सबै कुरा जित्न चाहेको बताए ।

पत्रकारले बार्सिलोना अनुबन्धपछिको धारणा माग्दा उनले भने, ‘म त्यस्तो क्लबमा छु, जुन विश्वकै उत्कृष्टमध्येको एक हो । म यहाँ आउन पाउँदा निकै खुसी छु । यसकारण कि, म एक उत्कृष्ट क्लबमा करिअरका सुनौला वर्ष बिताउन गइरहेको छु ।’

त्यसैगरी, उनसँग बार्सिलोनाबाट ट्रिबेल उपाधि जित्न सक्ने–नसक्नेबारे पनि विचार मागियो । सोक्रममा उनले बार्सिलोनामा आफ्ना लागि एकै सिजन तीन प्रमुख उपाधि जित्ने एक सपना रहेको बताए ।

‘(हाँस्दै) अवश्य पनि ट्रिबेल जित्नु निकै शानदार र सुन्दर कुरा हो । यो त मेरा लागि एक सपनाजस्तै हो । तर, यो निकै कठिन छ । किनभने, स्पेनिस लिगमा चर्को प्रतिस्पर्धा हुन्छ । च्याम्पियन्स लिग जित्न त सधैं कठिन हुन्छ । तर, हामी यी सबैका लागि संघर्ष गर्नेछौं ।’

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १५:५५
Loading...