‘हाजार्ड विश्वस्तरका खेलाडी हुन् तर नेइमार उत्कृष्ट छन्’

एजेन्सी, साउन ४
स्पेनिस रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलोले आफ्ना नयाँ सहकर्मी इडेन हाजार्ड र राष्ट्रिय टिमका सहकर्मी नेइमारको तुलना गरेका छन् । प्रि–सिजन टुरमा रहेका उनले एक अन्तर्वार्तामा बोल्दै दुई स्टार खेलाडीबारे भनाइ राखेका हुन् । मार्सेलो र नेइमार ब्राजिलको टोलीबाट सँगै खेल्छन् भने हाजार्ड बेल्जियमको टोलीका कप्तान हुन् । नेइमार फ्रेन्च क्लब पिएसजीका खेलाडी हुन् ।

मार्सेलोले नेइमार रियल आउने चर्चाबीच आफूले उनी वास्तवमै बेर्नाबेउ आएको हेर्न चाहेको बताए । ‘यदि नेइमार रियल मड्रिड आए भने मेरा लागि यो निकै खुसीको कुरा हुनेछ । रियल सधैं विश्वका उत्कृष्ट खेलाडी अनबुन्ध गर्न चाहन्छ । नेइमार पनि त्यसमध्ये एक हुन्,’ मार्सेलोले भने, ‘नेइमार यस्ता खेलाडी हुन्, जसलाई रोक्न जस्तोसुकै डिफेन्डरलाई पनि कठिन हुन्छ । उनी एकदमै चलाख फरवार्ड हुन् ।’

हाजार्ड आएपछि नेइमारको सम्भावना रहे–नरहेको विषयमा बोल्दै मार्सेलोले नेइमार आउन अझै पनि कुनै समस्या आफूले नदेखेको बताए । ‘मलाई लाग्दैन कि, हाजार्डको अनुबन्धले नेइमारलाई असर गर्छ, नेइमार आए उनका लागि कोठा खाली छ,’ मार्सेलोले भने ।

मार्सेलोले बेल्जियन खेलाडी हाजार्डको तारिफ गर्दै उनलाई एक उत्कृष्ट खेलाडी भने । ‘इडेन एक विश्वस्तरका खेलाडी हुन् । यस्ता खेलाडी जोसँग विशेष क्षमता छ, नेइमारको जस्तै । यी दुवै उत्कृष्ट पाँचमा पर्छन् ।’

मार्सेलोले अघि थपे, ‘हाजार्डबाट म निकै प्रभावित छु । उनीहरूको तुलना हुन सक्दैन । दुवैसँग विशेष क्षमता छ । तर, मेरा लागि नेइमार उत्कृष्ट छन् ।’

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १५:१९
Loading...