पेनाल्टीमा म्यानचेस्टर सिटीलाई हराउँदै उल्भ्सले जित्यो एसिया ट्रफी

काठमाडौं, साउन ४
प्रि–सिजन टुरअन्तर्गत गत सिजनको इंग्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै उल्भ्सले एसिया ट्रफीको उपाधि जितेको छ । आज चीनमा भएको फाइनल खेलमा खेलमा सिटी पेनाल्टी सुट आउटमा ३–२ ले स्तब्ध बन्यो ।

चीनको होङकाउ फुटबल स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र थप समयमा समेत खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । सिटीले ९० मिनेटमै खेल जित्ने मौका पाए पनि पेनाल्टी गुमाउनु उसका लागि महँगो पर्न गयो ।

खेलको २१औं मिनेटमा बक्समा सानेलाई उल्भ्सका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा रहिम स्टर्लिङ गोल गर्न असफल भए । उनको प्रहार पोस्टभन्दा माथिबाट आकासिएको थियो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा पुग्यो ।

जहाँ सिटीलाई उल्भ्सले ३–२ ले निराश बनायो । दुवै टिमले ५–५ पटक प्रहार गर्दा सिटीले २ गोल मात्रै गोल गर्न सक्यो भने उल्भ्सले ३ गोल हान्यो ।

उल्भ्सका लागि कोनर कोआडी र म्याक्स किलमानले पेनाल्टी चुकाउँदा रायन बेनाट, टायलोर पेरी र रुबेन भिनार्गेले गोल गरेका थिए । यता, सिटीका लागि इकाए गुन्डोगान, डेभिड सिल्भा र लुकास मेचाले पेनाल्टी चुकाउँदा ड्यानिलो र एलक्ेस गार्सियाले मात्रै गोल गरेका थिए ।

सिटीले यसअघि सेमिफाइनलमा वेस्ट ह्यामलाई ४–१ ले हराए पनि फाइनलमा ऊ निराश बन्यो । उल्भ्सले भने सेमिमा न्यु क्यास्टललाई ४–० ले हराएको थियो ।

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १४:२७
Loading...