बार्सिलोना र ग्रीजम्यानविरुद्ध फुटबल संघले छानबिन थाल्यो

एजेन्सी, साउन ४
स्पेनिस फुटबल फेडेरेसनले क्लब एथ्लेटिको मड्रिड र हालै बार्सिलोनाले अनुबन्ध गरेका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानविरुद्ध छानबिन थालेको छ । अघिल्लो दिन उसले अफिसियल रूपमा दुई पक्षविरुद्ध छानबिन थालेको स्पेनिस मिडियाले जनाएका छन् ।

एथ्लेटिको मड्रिडले फुटबल संघमा बार्सिलोनाले समझदारीबिपरीत ‘धोकापूर्ण’ अवस्थाबाट आफ्ना खेलाडी भित्र्याएको भन्दै मुद्दा हालेको थियो । उसले फिफामा बार्सिलोनाविरुद्ध मुद्दा हाल्ने भने पनि स्पेनिस संघमा पहिलो मुद्दा दर्ता गराएको हो ।

एथ्लेटिकोले बार्सिलोनाले आफ्ना खेलाडीलाई एकपक्षीय रूपमा अनुबन्ध गरेको र आफूसँगको समझदारी पालना नगरेको आरोप लगाएको छ । बार्सिलोनाले अघिल्लो साता एथ्लेटिकोबाट १२० मिलियन युरोमा ग्रीजम्यानलाई अनुबन्ध गरेको थियो । बार्सिलोनाले ग्रीजम्यानको रिलिज क्लज तिरेर अनुबन्ध गरेको हो ।

बार्सिलोनाले ला लिगाको कार्यालयमा ग्रीजम्यानको रिलिज क्लज बराबरको रकम उनका वकिलमार्फत् जम्मा गराएर सामाजिक सन्जालबाट ग्रीजम्यान अनुबन्धको घोषणा गरेको थियो ।

बार्सिलोनाले अनुबन्ध घोषणा गरेको केही घन्टापछि नै एथ्लेटिकोले प्रेस विज्ञप्ति निकालेर बार्सिलोनाले धोकापूर्ण अवस्थाबाट ग्रीजम्यान अनुबन्ध गरेको भन्दै २०० मिलियन रकम माग गरेको थियो । उसले बार्सिलोनासँग ग्रीजम्यानको रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति बने पनि खेलाडी किनबेचमा दोहोरो समझदारी हुनपर्नेमा बार्सिलोनाले एकपक्षीय गरेको भन्दै उसले उजुरी हालेको हो ।

बार्सिलोना र एथ्लेटिकोबीच गत जुलाई १ मा रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति बनेको थियो । तर, एथ्लेटिकोले भने बार्सिलोनाबाट २०० मिलियन लिने र दाबी गर्ने आफूहरूसँग प्रशस्तै आधार रहेको भन्दै संघमा उजुरी हालेको हो ।

यदि संघको छाननिबमा बार्सिलोना दोषी देखिए उसले एथ्लेटिकोलाई २०० मिलियन पूरै तिर्नुपर्ने फैसला हुनसक्छ भने ऊमाथि अन्य थप कारबाही पनि हुनेछ ।

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०८:१५
Loading...