नयाँ सिजन र नयाँ खेलाडीबारे यसो भन्छन् बार्सिलोनाका प्रशिक्षक

एजेन्सी, साउन ४
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले नयाँ सिजनको तयारीबारे धारणा राखेका छन् । बार्सिलोनाको अफिसियल मिडियासँग कुरा गर्दै उनले क्लबले हालै भित्र्याएका नयाँ खेलाडी र नयाँ सिजनबारे धारणा राखेका हुन् ।

पछिल्ला चार वर्ष लगातार युरोपियन च्याम्पियन्स लिग जित्न नसकेको बार्सिलोनाका लागि यसपटक पनि सो उपाधि प्रमुख लक्ष्य हुने भाल्भर्डेले बताएका छन् । उनले विगत सिजनका खराब दिन बिर्सेर नयाँ सिजनमा उपाधि घर फर्काउनु आफूहरूको एक मात्रै लक्ष्य रहेको बताए ।

‘हामीले च्याम्पियन्स लिग जित्न नसकेको चार वर्ष भयो । बार्सिलोनाजस्तो विश्वकै एक उत्कृष्ट क्लबका लागि यो नसुहाउने कुरा हो । पछिल्लो सिजन हाम्रा लागि झनै खराब रह्यो,’ भाल्डर्भेले भने, ‘तर, नयाँ सिजनमा हामी हारको शृंखला तोड्न चाहन्छौं । क्लब व्यवस्थापक र खेलाडी सबै गम्भीर छौं । अहिले हाम्रो ध्यान प्रि–सिजनलाई सुखद् बनाउनेमा केन्द्रित छ ।’

भाल्भर्डेले यसपटक च्याम्यिन्स लिगका लागि आफूहरू अरू सबै उपाधि हार्न तयार रहेको बताए । ‘यसपटक हामी च्याम्पियन्स लिग जित्नलाई अरू सबै हार्न तयार छौं । हामीलाई यसको महत्त्व थाहा छ । तपाईं बार्सिलोनाजस्तो टिममा हुनुहुन्छ र चार वर्षसम्म च्याम्पियन बन्न सक्नुहुन्न भने निकै पीडादायी हुन्छ । यसको पीडा हामीलाई राम्रोसँग थाहा छ,’ उनले थपे ।

भाल्र्डेले नयाँ सिजनमा बार्सिलोनाका लागि सबै उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘सामान्यतः हामी यसपटक सबै उपाधि जित्नकै लागि खेल्छौं । घरेलु लिग जित्नु जति महत्त्वपूर्ण हुन्छ, त्योभन्दा बढी च्याम्पियन्स लिग । किनभने, यो प्रतियोगिता ठूला क्लबको स्तर नाप्ने प्रमुख प्रतियोगिता हो ।’

त्यसैगरी, भाल्भर्डेले बार्सिलोनाले भित्र्याएका नयाँ खेलाडीबारे पनि धारणा राखे । उनले नयाँ सिजनमा युवा मिडफिल्डर फ्रेन्की डे जोङ र फरवार्ड एन्टोनी ग्रीजम्यान मुख्य हतियार बन्ने बताए । ‘फ्रेन्की निकै राम्रा खेलाडी हुन् । उनको खेल्ने शैली बार्सिलोनासँग मिल्छ । आगामी सिजन उनी मेरो योजनाका महत्त्वपूर्ण हिस्सा हुनेछन् । उनी पनि खेल्न र उपाधि जित्न उत्साहित छन् । उनीबाट क्लबले पनि ठूलो अपेक्षा गरेको छ,’ भाल्भर्डेले भने ।

त्यस्तै, भाल्भर्डेले ग्रीजम्यानबारे पनि बताएका छन् । ‘उनी द्रुत गतिका गोलकर्ता खेलाडी हुन् । ठूला प्रतियोगितामा गोलको अभाव टार्न उनलाई अनुबन्ध गरिएको हो । उनको अनुबन्धपछि हामी थप बलियो भएका छौं । म विश्वस्त छु, उनले टिमका लागि प्रशस्तै गोल गर्नेछन्,’ भाल्भर्डेले भने ।

यता, भाल्भर्डेले कप्तान लिओनल मेस्सीबारे पनि बोलेका छन् । नयाँ सिजन मेस्सीबाट आफूले कुनै नयाँ र ठूलो अपेक्षा नगरेको बताए । ‘मेस्सीको आफ्नै शैली र गति छ । उनले आजसम्म जसरी मैदानमा आफ्नो काम गर्दै आएका छन्, आगामी दिनमा पनि त्योभन्दा बढी अपेक्षा छैन,’ भाल्भर्डेले भने, ‘उनी टिमका प्रमुख खेलाडी हुन् । उनले नयाँ सिजन पनि टिमलाई सधैंझैं योगदान दिनेमा मलाई शंका छैन ।’

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०४:५०
Loading...