सेनेगललाई हराउँदै अल्जेरिया बन्यो अफ्रिका कपको च्याम्पियन

काठमाडौं, साउन ४
पहिलोपटक उपाधि जितेर इतिहास रच्ने दौडमा रहेको सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिका कप अफ् नेसन्स फुटबलको च्याम्पियन बनेको छ । गत राति भएको फाइनल खेलमा अल्जेरियाले साडियो मानेको टिम सेनेगललाई १–० ले हराउँदै उपाधि चुमेको हो ।

यससँगै अल्जेरिया दोस्रोपटक अफ्रिका कपको च्याम्पियन बनेको छ । यसअघि उसले सन् १९८० मा पनि अफ्रिका कप जितेको थियो । यता, सेनेगल भने दोस्रोपटक फाइनल पुगेर पनि उपाधि जित्नबाट चुक्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा अल्जेरियाले खेलको दोस्रो मिनेटमा गरेको एक मात्रै गोल उपाधि जित्न निर्णायक भयो । खेल सुरु भएको दोस्रो मिनेटमै बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । सो गोलमा सेनेगलका गोलकिपरले रोक्ने कुनै मौकै पाएनन् ।

त्यसपछि पहिलो हाफ र दोस्रो हाफमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि खेल अल्जेरियाले १–० ले जित्यो । निकै घम्साघम्सीपूर्ण खेलमा अल्जेरियाले विपक्षीको पोस्टमा जम्मा एकपकट मात्रै आक्रमण गर्न सक्यो । सोही आक्रमणमा गोल निकालेको उसले अन्ततः उपाधि पनि जित्यो । गोल खाएपछि गोल फर्काउन लगातार प्रयास गरेको सेनेगलले गोल निकाल्न सकेन । र, उपाधि अल्जेरियालाई सुम्पियो ।

सेनेगलले दोस्रो हाफमा पेनाल्टी पाएको थियो । मैदानका रेफ्रीले पेनाल्टी दिए पनि पछि भिएआरको टिमले सो पेनाल्टी रद्द गरिदिँदा सेनेगललाई ठूलो झट्का लागेको थियो ।

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०२:५०
Loading...