रिसाउँदै कोन्टेले भने– ‘इकार्डीलाई अब टोलीमा राख्दिनँ’

एजेन्सी, साउन ३
हालसालै इटालियन क्लब इन्टर मिलानको प्रमुख प्रशिक्षकमा नियुक्त भएका प्रशिक्षक एन्टोनियो कोन्टेले स्टार फरवार्ड माउरो इकार्डीलाई अब टोलीमा नराख्ने बताएका छन् । पछिल्लो समय क्लबसँग सम्बन्ध सुमधुर बनाउन नसकेका अर्जेन्टिनी फरवार्डले फेरि ‘मिलानबाट खेल्न नपाउने’ भन्दै कोन्टेले यही नै क्लबको औपचारिक धारणा भएको पनि बताएका छन् ।

मिलानले नयाँ सिजनअघि भोलि (शनिबार) सिंगापुरमा इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । सो खेल खेल्ने टोलीमा इकार्डी छैनन् । कोन्टेले व्यक्तिगत रूपमा इकार्डीले क्लबप्रति खराब व्यवहार देखाएकाले उनले पुनः मिलानको जर्सी नलगाउने अडान लिए ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोन्टेले भने, ‘उनी (इकार्डी) बारे एकदमै स्पष्ट छु । उनलाई अब म टोलीमा राख्नेछैन । उनीबिनै हाम्रो तयारी छ ।’

कोन्टेले क्लबले यतिबेला इकार्डीको विकल्प खोजी गरिरहेको पनि बताए । ‘इकार्डी नयाँ सिजन कहाँबाट खेल्छन्, मलाई थाहा छैन । तर, उनी मिलानमा हुनेछैनन् । क्लब उनको विकल्पमा फरवार्ड भित्र्याउन प्रयासरत छ ।’

यो बताइन्छ कि, अर्जेन्टिनी फरवार्ड पछिल्लो समय सामाजिक सन्जालमा देखाएको व्यवहरका कारण आलोचित छन् । केही समयअघि उनले आफ्नै पत्नीसँग नांगा तस्बिर खिचाएका थिए, जसका कारण उनी निकै आलोचित बनेका थिए । यता, पछिललो समय क्लब व्यवस्थापन पक्षसँग पनि उनले सम्बन्ध बिगारेकाले मिलान उनलाई क्लबमा राख्ने पक्षमा छैन ।

२६ वर्षीय अर्जेन्टिनी स्टार पछिल्लो समय ब्राजिलमा भएको कोपा अमेरिकामा पनि अर्जेन्टिनी टोलीमा परेका थिएनन् । उनी हाल बिदामा छन् । उनी इटालीकै क्लब युभेन्टस जाने चर्चा छ ।

प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १४:४९
Loading...