अफ्रिका कप : उपाधिका लागि आज सेनेगल र अल्जेरिया भिड्दै

काठमाडौं, साउन ३
अफ्रिका महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ् नेसन्स’मा आज उपाधि भिडन्त हुँदैछन् । ३२औं संस्करणको उपाधिका लागि एकपटक च्याम्पियन बनिसकेको अल्जेरिया र एकपटक फाइनलमा पराजित भएको सेनेगल भिड्दैछन् । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

इजिप्टमा जारी प्रतियोगितामा अल्जेरिया आज सेनेगललाई हराउँदै दोस्रोपटक यो उपाधि जित्ने दाउमा छ । उसले यसअघि सन् १९९० मा यो उपाधि जितिसकेको छ ।

तर, दोस्रोपटक फाइनल पुगेको सेनेगल भने आज राति पूर्वच्याम्पियनलाई हराउँदै नयाँ इतिहास रच्ने दाउमा छ । उसले हालसम्म कप जित्न सकेको छैन । ऊ सन् २००२ मा फाइनल पुगेपनि पेनाल्टीमा क्यामरुनसँग ३–२ ले हारेपछि च्याम्पियन बन्नबाट चुकेको थियो ।

त्यसयता ऊ कपको फाइनल पुग्न सकको थिएन । तर, यसपटक ऊसँग च्याम्पियन बनेर नयाँ इतिहास कोर्ने दाउ छ । त्यसका लागि उसले पूर्वच्याम्पियन र एकपटकको उपविजेतालाई फाइनलमा पन्छाउनुपर्ने हुन्छ । अल्जेरियाले यसअघि सन् १९९० मा कपको उपाधि जित्दा सन् १९८० मा नाइजेरियासँग ३–० ले पराजित भएपछि उपविजेतामै सीमित बनेको थियो ।

यसअघि सेमिफाइनलमा सेनेगलले ट्युनिसियालाई १–० ले हराएर फाइनलमा स्थान बनाउँदा अल्जेरियाले नाइजेरियालाई २–१ ले हराएर फाइनलको टिकट काटेको थियो ।

प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १०:१८
Loading...