यसकारण रोनाल्डोले जित्न सक्छन् छैटौं बालोन डि‘ओर

एजेन्सी, साउन २
सन् २०१९ मा इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि व्यक्तिगत रूपमा शानदार तथ्यांक बनेनन् । अर्थात्, उनले विगत वर्षजस्तो धेरै गोल गर्न सकेनन् भने युरोपियन च्याम्पियन्स लिग जित्न सकेनन् ।

तर, यसबाहेक उनले गर्नसक्ने सबथोक गरेका छन् । यस वर्ष मात्रै उनले तीन महत्त्वपूर्ण उपाधि जिते । रियल मड्रिड छाडेर नयाँ क्लब पुगेका उनले दुई महत्त्वपूर्ण उपाधि जिते । इटालियन लिग सिरी ‘ए’मा उनले पहिलो सिजनमै प्रभाव जमाउँदै सिजनकै उत्कृष्त खेलाडी बने । उनकै प्रदर्शनको बलमा युभेन्टसले ऐतिहासिक फराकिलो अग्रतासहित उपाधि जित्यो ।

रोनाल्डोकै निर्णायक गोलको मदतमा युभेन्टसले सुपर कोपा इटालियाको उपाधि जित्यो । उनले सिजनभर युभेन्टसका लागि कूल २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरे ।

यता, पोर्चुगलका लागि पनि यस वर्षलाई उनले शानदार बनाए । उनकै शानदार प्रदर्शनको बलमा पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जित्यो । टिमलाई फाइनलसम्म लैजान रोनाल्डोले नै सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । उनै प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडी पनि बने ।

यसवर्ष यस्तो तथ्यांक र सफलता बटुलेका ३४ वर्षीय रोनाल्डोलाई अझै पनि बालोन डि‘ओरका लागि प्रमुख दाबेदार मानिँदैन । उनीभन्दा अघि युरोपियन च्याम्पियन्स लिग विजेता खेलाडी इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक र बार्सिलोनाका लिओनल मेस्सी छन् । त्यसपछि मात्रै रोनाल्डोको चर्चा छ । विभिन्न सर्वेक्षणहरूले पनि रोनाल्डोलाई बलियो दाबेदार देखाएका छैनन् ।

तर, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक तथा फुटबल विशेषज्ञ जोसे मोउरिन्हो भने रोनाल्डोले छैटौं बालोन डि‘ओर जित्न पर्याप्त गरेको बताएका छन् । उनले व्यक्तिगत प्रदर्शन र उपाधि हेर्दा रोनाल्डो निकै बलियो दाबेदार रहेको बताए छन् ।

‘भान डाइक च्याम्पियन्स लिग विजेता हुन्, मेस्सीसँग धेरै गोल र असिस्ट छ,’ मोउरिन्होले भने, ‘तर, रोनाल्डोसँगै यी दुवै कुरा नभईकन पनि भान डाइक र मेस्सीको भन्दा महत्त्वपूर्ण सफलता छन् ।’

रोनाल्डोले फरक क्लबमा गएर लिगसहित दुई उपाधि जित्नु र राष्ट्रिय टिमबाट करिअरको दोस्रो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्नु रोनाल्डोका लागि बालोन डि‘ओरका लागि बलियो आधार हुने मोउरिन्हो बताउँछन् । ‘मेरो विचारमा भान डाइक र मेस्सी एक हिसाबले दाबेर छन्, अर्को हिसाबबाट रोनाल्डो पनि दाबेदार छन्,’ मोउरिन्होले भने, ‘वर्ष २०१९ मा रोनाल्डोले जे–जस्ता सफलता पाए त्यो सामान्य छैन, रोनाल्डो जो हाल ३४ वर्षका छन् ।’

मोउरिन्होले यो पनि बताएका छन् कि, रोनाल्डोले भान डाइक र मेस्सीलाई अझै पनि स्पष्ट रूपमा पछि पारेर छैटौं बालोन डि‘ओर जित्न सक्छन् । ‘बालोन डिओरको टुंगो लाग्न अझै थुप्रै समय बाँकी छ । यदि नयाँ सिजनको सुरुआतमा रोनाल्डोले मेस्सी र भान डाइकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सके भने उनी प्रमुख दाबेदार बन्न सक्छन्,’ मोउरिन्होले भने, ‘मलाई लाग्छ, रोनाल्डोलाई यो कुरा राम्रोसँग थाहा छ । र, उनी यसमा गम्भीर छन् ।’

केही दिनअघि पनि मोउरिन्होले एक अन्तर्वार्तामा बोल्दै मेस्सीसँग गत सिजनको ५१ गोल र १९ असिस्ट भए पनि उनले च्याम्पियन्स लिग र कोपा अमेरिकामा भोगेको असफलताका कारण उनको दाबेदारी निकै कमजोर भएको बताएका थिए ।

उनले भनेका थिए, ‘मेस्सीसँग ५१ गोल र १९ असिस्ट छ । यो निकै शानदार तथ्यांक हो । तर, उनी ला लिगाको मात्रै विजेता हुन्, उनी प्रतियोगितामा असफल भए । र, बालोन डि‘ओर जित्न व्यक्तिगत प्रदर्शनसँग च्याम्पियन बन्नुपर्छ ।’

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १२:५८
Loading...