युभेन्टसद्वारा ‘गोल्डेन ब्वाई’ डि लिग्ट अनुबन्धको औपचारिक घोषणा

एजेन्सी, साउन २
इटालियन क्लब युभेन्टसले डच डिफेन्डर माथिस डि लिग्ट अनुबन्धको औपचारिक घोषणा गरेको छ । क्लबले आज अफिसियल रूपमा डच क्लब आयाक्सका कप्तानसमेत रहेका १९ वर्षीय डिफेन्डरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

यो समयका स्टार युवा डिफेन्डरका लागि युभेन्टसले आयाक्सलाई ७५ मिलियन युरो सरुवा फि तिरेको छ । डि लिग्ट दुई दिनअघि नै मेडिकलका लागि टुरिन पुगेर मेडिकलसमेत पास गरिसकेका छन् । डि लिग्टले पहिलोपटक क्लबसँग आगामी ४ वर्षसम्मका लागि सम्झौता गरेका छन् । उनी अब सन् २०२४ सम्म युभेन्टसमै हुनेछन् ।

अनुबन्ध घोषणासँगै युभेन्टसले अब डि लिग्टलाई औचारिक रूपमा घरेलु दर्शकमाझ सार्वजनिक गर्नेछ । डि लिग्ट उनै खेलाडी हुन्, जसले गत सिजन युभेन्टस च्याम्पियन्स लिगबाट आउट हुनेक्रममा अन्तिम आठको दोस्रो लेगमा आफ्नो घरमा २–१ ले हर्दा आयाक्सका लागि निर्णायक गोल गरेका थिए ।

यसअघि डि लिग्टलाई भित्र्याउन स्पेनको क्लब बार्सिलोनाले पनि भरपुर प्रयास गरेको थियो । तर, बार्सिलोनामा पहिलो रोजाइमा नपर्ने भएपछि डि लिग्टले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए ।

अब युभेन्टसमा १९ वर्षीय डि लिग्ट कप्तान जर्जियो चिलिनी र बोनुचीजस्ता अनुभवी डिफेन्डरसँग पहिलो रोजाइमा रहेर खेल्नेछन् । नयाँ सिजनमा डि लिग्टलाई प्रशिक्षक सार्रीले प्राथमिकतामा राखेर प्रयोग गर्ने तयारी गरेका छन् ।

डि लिग्ट युभेन्टसमा अनुबन्ध हुनुको पछाडि युभेन्टसकै सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई मुख्य मानिन्छ । केही समयअघि युइएफए नेसन्स लिगको फाइनल खेल दौरान पोर्चुगल र नेदरल्यान्ड्सको उपाधि भिडन्तपछि रोनाल्डोले डि लिग्टसँग व्यक्तिगत रूपमा युभेन्टस आउन अनुरोध गरेका थिए ।

त्यसपछि डि लिग्ट एकाएक युभेन्टस सर्ने चर्चामा जोडिँदै आएका थिए । यता, डि लिग्ट स्वयं पनि युभेन्टसका चिलिनी र बोनुचीबाट प्रेरित भएकाले पनि उनी इटाली जान थप मदत पुगेको बताइन्छ ।

अब डि लिग्टको अनुबन्धसँगै युभेन्टसको रक्षापंक्ति अझै मजबुत हुनेछ । त्यसै पनि युभेन्टसलाई युरोपमै सबैभन्दा बलियो र उत्कृष्ट रक्षापंक्ति भएको टिमका रूपमा चिनिन्छ ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १०:४३
Loading...