मेस्सीबारे नेइमारको यस्तो टिप्पणी

एजेन्सी, साउन २
पछिल्लो समय बार्सिलोना फर्किने चर्चामा रहेका ब्राजिलियन नेइमारले पूर्वसहकर्मी लिओनल मेस्सीको तारिफ गरेका छन् । हालै पिएसजी फर्किएर प्रशिक्षणमा सामेल भएका उनले बार्सिलोनामा छँदाका दिन सम्झिँदै मेस्सीसँग आफूले करिअरको सुन्दर समय बिताएको भन्दै मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडी भनेका छन् ।

नेइमार सन् २०१३ देखि २०१४ गरी चार सिजन बार्सिलोनामा रहँदा उनले मेस्सीसँग निकै सुमधुर सम्बन्ध बनाएका थिए । तर, नेइमार सन् २०१७ मा बार्सिलोनामा ‘मेस्सीको छायाँमा परेको’ भन्दै विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए ।

पछिल्लो समय नेइमार पिएसजीमा बेखुसी छन् । र, उनले यसै समरमा क्लब छाड्ने तयारी गरेका छन् । उनलाई बार्सिलोनाले फर्काउने कसरत गरिरहेको छ । तर, नेइमारको महँगो मूल्य दुई क्लबबीच तगारो बनेको देखिन्छ ।

नेइमारले मेस्सीको तारिफ गर्दै पुनः एकपटक बार्सिलोना फर्किन चाहेको संकेत दिएका छन् । ‘मेरा लागि मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनीजस्तो खेलाडी आजसम्म मैले देखेको छैन,’ नेइमारले भनेका छन् ।

नेइमारले बार्सिलोनामा रहँदा मेस्सीसँग मिलेर एक छुट्टै लय निर्माण गरको पनि बताए । ‘बार्सिलोनामा हामीले छुट्टै जोडीको निर्माण गरेका थियौं । मेरा लागि मेस्सीसँग खेल्न पाउनु खुसी कुरा थियो । हामीले विश्व फुटबलको उच्च स्तरबाट खेल्यौं,’ नेइमारले भने, ‘उनी मेरा साथी हुन् ।’

सन् २०१७ मा च्याम्पियन्स लिगमा बार्सिलोनाले अन्तिम १६ मा पिएसजीविरुद्ध आफ्नो घरमा ४–० को नतिजा उल्ट्याउनेक्रममा ६–१ को जित निकाल्दा नेइमारले २ गोल गर्नुका साथै १ गोलका लागि असिस्ट गरेका थिए । सो कमब्याक जितका लागि अझै पनि नेइमारलाई पनि नायक मानिन्छ । तर, सो सिजन बार्सिलोना अन्तिम आठबाटै आउट भएको थियो । सोही सिजनपछि नेइमारले बार्सिलोना छाडेका थिए ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०५:४१
Loading...