‘डि लिग्टका लागि बार्सिलोना सही क्लब थिएन’

एजेन्सी, साउन २
युवा डच डिफेन्डर माथिस डि लिग्ट इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका छन् । अघिल्लो दिन उनले मेडिकल जाँचसमेत गराइसकेका छन् । युभेन्टसले उनलाई औपचारिक रूपमा सार्वजनिक भने गरिसकेको छैन ।

लामो रस्साकस्सीपछि डि लिग्ट युभेन्टस पुगेपछि उनका एजेन्ट मिना रोइलाले बार्सिलोना डि लिग्टका लागि उचित क्लब नभएको बताएका छन् । डि लिग्टलाई यसअघि बार्सिलोनाले अनुबन्ध गर्न चाहेको थियो । तर, अन्तिम समयमा युभेन्टसले बार्सिलोनालाई जिल्ल्याउँदै यो समयका चर्चित युवा खेलाडी भित्र्यायो ।

रोइलाका अनुसार बार्सिलोनाले डि लिग्टसँग व्यक्तिगत रूपमा सम्झादारी कायम गर्न नसक्दा उनले युभेन्टस रोजेका हुन् । ‘डि लिग्ट जहाँ जान्थे, त्यहाँ पहिलो रोजाइमा खेल्न चाहन्थे । तर, बार्सिलोनामा उनी प्राथमिकतामा नपर्ने कुरा उनलाई राम्रोसँग थाहा थियो,’ रोइलाले भने, ‘उनीजस्ता खेलाडी सक्दो धेरै खेल्न चाहन्छन्, यो सामान्य हो । यस हिसाबले बार्सिलोना उनका लागि सही क्लब थिएन । उनी बेन्चमा बस्ने खेलाडी होइनन् ।’

रोइलाले युभेन्टसे युरोपको एक ठूलो क्लब भएको बताउँदै उनका लागि सो क्लब सबैभन्दा उत्कृष्ट रहेको बताए । ‘मेरो र डि लिग्ट स्वयंका नजरमा पनि युभेन्टस उनका लागि सबैभन्दा सही क्लब हो, जहाँ उनी मुख्य खेलाडीका रूपमा खेल्नेछन्,’ रोइलाले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी भएको टिमसँग खेल्दैछन् ।’

युभेन्टसले १९ वर्षीय डि लिग्टलाई ७५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि बार्सिलोनाले उनलाई ६० मिलियनको मात्रै प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०५:२५
Loading...