युभेन्टसका खेल निर्देशकसँग नेइमारका बुबाको ‘आकस्मिक बैठक’ !

एजेन्सी, साउन २
स्पेनिस मिडियाले यो दाबी गरेका छन् कि, फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारका पिताले इटालियन क्लब युभेन्टसका अधिकारीसँग बैठक गरेका छन् । नेइमारका एजेन्टसमेत रहेका उनका पिता नेइमार सिनियरले आफ्ना छोराको सम्भावित सरुवाको विषयमा छलफल गर्न युभेन्टसका खेल निर्देशक फावियो पाराटिसीसँ टुरिनमा बैठक गरेको दाबी गरिएको छ ।

दुई वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरोमा स्पेनिस बार्सिलोना छाडेर पिएसजी पुगेका नेइमार पहिलोपटक युभेन्टसको सरुवा चर्चासँग जोडिएका हुन् । यसअघि उनी बार्सिलोना फर्किन सक्ने वा रियल मड्रिडमा पुग्ने सक्ने चर्चा चर्को रूपमा चलेको थियो ।

‘मुन्डो डेपोर्टिभो’का अनुसार नेइमारका पिता र युभेन्टसका अधिकारीबीच भएको आकस्मिक बैठकलाई निकै महत्त्वसाथ हेरिएको छ । यो बैठकले नेइमार बार्सिलोना फर्किन सक्ने वा रियल जान सक्ने चर्चा र विषयलाई नयाँ दिशा दिने देखिन्छ ।

बार्सिलोनाले नेइमार फर्काउन आफ्ना दुई खेलाडी ब्राजिलियन फिलिपे कोउटिन्हो र फ्रेन्च उसामान डेम्बेलेसहित ४० मिलियन युरो दिन अफर गरेको बताइएको छ । तर, पिएसजी सजिलै नेइमारलाई बार्सिलोना जान दिने पक्षमा छैन । यता, रियल मड्रिड पनि नेइमार भित्र्याउन अझै प्रयासरत रहेको छ ।

नेइमार अहिले चोटमुक्त हुँदै पिएसजीको प्रशिक्षणमा फर्किएका छन् । पछिल्लो समय क्लबसँग उनको सम्बन्ध चिसिएकाले उनले क्लब छाड्ने तयारी गरेका छन् ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०३:४६
Loading...