पिएसजीद्वारा नेइमारका लागि बार्सिलोनाको प्रस्ताव अस्वीकार !

एजेन्सी, साउन १
फ्रेन्च क्लब पिएसजीले स्पेनिस बार्सिलोनाले आफ्ना ब्राजिलियन खेलाडी नेइमार फर्काउन गरेको पहिलो प्रस्ताव अस्वीकार गरेको छ । फ्रेन्च मिडिया ‘टेलिग्राफ’ले क्लब स्रोत उद्धृत गर्दै यस्तो खबर छापेको छ ।

बार्सिलोनाले पहिलोपटक औपचारिक रूपमा पिएसजीसँग सन् २०१७ मा आफूले नै बेचेका नेइमार फर्काउन आफ्ना दुई खेलाडीसहित निश्चित रकम अफर गरेको थियो । जसमा बार्सिलोनाले आफ्ना क्रोएसियन मिडफिल्डर इभान राकिटिक र ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होसहित ४० मिलियन युरो रकम दिन अफर गरेको थियो ।

तर, बार्सिलोनाको सो प्रस्ताव पिएसजीले ठाडै अस्वीकार गरिदिएको फ्रेन्च तथा स्पेनिस मिडियाले पनि जनाएका छन् । पहिलो प्रस्ताव अस्वीकार भएपछि बार्सिलोनाले नेइमारका लागि दोस्रोपटक प्रस्ताव गरेको छ ।

दोस्रोपटक उसले कोउटिन्होसँग फ्रेन्च विंगर उसामान डेम्बेलेसहित ४० मिलियन युरो दिन प्रस्ताव गरेको छ । तर, बार्सिलोनाको दोस्रो प्रस्तावमा भने पिएसजीले कुनै प्रतिक्रिया दिएको छैन ।

बार्सिलोनाले कोउटिन्होलाई डेढ वर्षअघि इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा भित्र्याएको थियो भने डेम्बेलेलाई २ वर्षअघि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा भित्र्याएको थियो ।

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार १५:४५
Loading...