रोनाल्डोको नाम लिँदै मोउरिन्होले मेस्सीलाई यसरी हाने ‘व्यंग्य’ !

एजेन्सी, साउन १
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक तथा हाल फुटबल विशेषज्ञका रूपमा काम गरिरहेका जोसे मोउरिन्होले पटक–पटक फाइनल पुगेर पनि कोपा अमेरिका जित्न असफल अर्जेन्टिनाका लिओनल मेस्सीप्रति व्यंग्य हानेका छन् । उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग मेस्सीको सन्दर्भ जोड्दै मेस्सीप्रति घोचपेच गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले कोपा अमेरिकालाई कसरी थप प्रतिस्पर्धात्मक बनाउन सक्छ भन्ने विषयमा सुझाव दिनेक्रममा मोउरिन्होले मेस्सी र रोनाल्डोको सन्दर्भ जोडेका हुन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै मोउरिन्होले कन्मेबलको कोपा अमेरिकालाई थप प्रतिस्पर्धी र फराकिलो बनाउने चाहना हो भने युरोपियन देशहरूलाई पनि डाक्नुपर्ने धारणा राखेका छन् । उनले युरोपका बलिया टिमलाई पनि प्रतियोगितामा मिसाउने हो भने कोपा अमेरिका थप प्रतिस्पर्धी हुने उनले बताए ।

‘यदि कन्मेबल आफ्नो प्रतियोगिताको विकास र स्तर वृद्धि गर्न चाहन्छ भने उनीहरूले युरोपियन राष्ट्रहरूलाई डाक्नुपर्छ । जस्तै, स्पेन, फ्रान्स, पार्चुगल आदि,’ मोउरिन्होले भने ।

यदि कन्मेबलले प्रतियोगितामा पाहुना टिमका रूपमा पोर्चुगललाई डाक्ने हो भने मेस्सीभन्दा पहिला रोनाल्डोले कोपा अमेरिका जित्ने दाबी मोउरिन्होले गरे । उनले अघि थपे, ‘यदि उनीहरूले आगामी वर्ष पोर्चुगललाई पाहुना टोलीका रूपमा डाके भने अवश्य पनि मेस्सीले भन्दा पहिला रोनाल्डोले कोपा अमेरिका जित्न सक्छन् ।’

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०९:००
Loading...